प्रदेश २ः लोसपाको असहमतिबीच प्रदेशसभामा दुई अध्यादेश पेश – Nepal Press

प्रदेश २ः लोसपाको असहमतिबीच प्रदेशसभामा दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई अध्यादेश पेश गरिएको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् । उक्त दुई अध्यादेश सरकारले प्रदेशसभा छलेर ल्याएको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै लोसपाका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।

लोसपाका सांसदहरुको अवरोधका कारण सभामुख सरोजकुमार यादवले बैठक १५ मिनेट स्थगित गरेका थिए । पछि पुनः बसेको बैठकमा मन्त्री साहले अध्यादेश पेश गरेपनि लोसपा सांसदहरुले विरोध जनाएनन् ।

लोसपाका सचेतक प्रमेश्वर साहले संघीयतालाई जोगाउनुपर्ने भएकाले आफूहरु कडा नभएर नरम रुपमा प्रस्तुत भएको बताए । उनले भने– दोस्रो बैठकमा अवरोध गर्दा मार्सल लगाएर भएपनि अध्यादेश पेश हुन्थ्यो, त्यसैले कडा रुपमा प्रस्तुत भएनौं ।

लामो समयपछि बसेको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने कार्यसूची पनि थियो । तर सभामुख यादवले उक्त विषय कार्यसूचीबाट हटाए । उनले अगामी बैठक पुस ८ गते दिउँसो १ बजे बस्ने बताए ।

मुख्यमन्त्री लालबाबु राउतले भने चार वर्ष बित्दा पनि प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसक्नुलाई आफ्नै कमजोरी बताएका थिए । उनले आजबाट आरम्भ भएको प्रदेशसभाको आठौं अधिवेशनमा नाम र राजधानी टुंगो लगाउन सबै दलसँग विशेष अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर