सम्पादकीय- पृथक र चुनौतीपूर्ण यात्राको गौरवशाली एक वर्ष (भिडिओसहित) – Nepal Press
नेपाल प्रेस दोस्रो वर्षमा प्रवेश

सम्पादकीय- पृथक र चुनौतीपूर्ण यात्राको गौरवशाली एक वर्ष (भिडिओसहित)

‘तथ्य अन्वेषण सत्य सम्प्रेषण’को यात्राले एक वर्ष पार गरेको छ । २०७७ मंसिर २९ गते नेपाल प्रेसले आफ्नो यात्रा आरम्भ गर्दा तथ्य अन्वेषण, सत्य सम्प्रेषणको यहीं एउटा लक्ष्य र जिम्मेवार तथा मर्यादित पत्रकारिताको संकल्प मात्र थियो ।

आज पहिलो वर्ष पार गरेर दोस्रो वर्षमा प्रवेश गर्दा हामीसँग लाखौं पाठक (अडियन्स)को विश्वास, सोहीअनुसारको दायित्व र अझ परिपक्व बन्दै फरक पहिचान तथा प्रस्तुतिसहितको पत्रकारिताको कार्यभार हामीसँग थपिएको छ । यसलाई कायम राख्दै अझ बढी जिम्मेवार र जवाफदेही बन्नुपर्ने अभिभारा पनि हामीसँग छ ।

मिडिया उद्योगमा एउटा नयाँ संस्था थपिने र त्यसले कर्मकाण्डी ढंगले वर्षहरु पार गर्ने परम्परामाथि हामीले विश्वास र संकल्प नलिएकै हो । पछिल्लो समय नेपालमा जे अभ्यास पत्रकारितामार्फत भइरहेको छ, त्यसमा हामी पृथक हुन खोज्यौं र एक वर्षमै नेपालमा पढिने डिजिटिल मिडियाको शीर्ष वरीयतामा आउन सक्यौं ।

यसको लागि धन्यवाद र बधाईका पात्र हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरु नै हुन् । हामीले मिडियाको भिडमा छिरेर अरुले जुन शैली, स्वाद र मिसनको अभ्यास गरिरहेका छन्, त्यसैलाई पछ्याएको भए कि त हामी हराउने थियौं, कि त्यही समूहको गुमनाम ‘स्याटेलाइट’का रुपमा कतै पिलिक्क देखिने थियौं ।

तर नेपाल प्रेसले लिएको बाटो फरक हो भन्न हामीलाई हिच्किचाहट छैन । नेपालमा बौद्धिक विमर्श गर्ने एउटा सिण्डिकेट समूह छ । राज्यका तीनै अंगसहित पत्रकारिता, बौद्धिक जगत र एक हदसम्म सामाजिक सञ्जाललाई समेत प्रभावित पार्नेगरी ‘एजेण्डा सेटिङ’ गर्ने ‘पावर एलिट समूह’ले नै मिडियाका कन्टेन्टहरु समेत वितरण गर्छ ।

हामीले मिडियाको भिडमा छिरेर अरुले जुन शैली, स्वाद र मिसनको अभ्यास गरिरहेका छन्, त्यसैलाई पछ्याएको भए कि त हामी हराउने थियौं, कि त्यही समूहको गुमनाम ‘स्याटेलाइट’का रुपमा कतै पिलिक्क देखिने थियौं ।

हामीले ‘पावर एलिट समूह’ले सेटिङ गरेका एजेण्डा बोक्न नचाहेकै हो । हामीले निश्चित स्वार्थ समूहको भाष्यलाई मिडियामार्फत लबिङ गर्ने आजको ‘मूलधार’को पदचाप पछ्याउन अस्वीकार गरेकै हो । राजनीति, न्यायपालिका, सार्वजनिक बहसका संस्थाहरुमाथि समूहबन्दीमार्फत् देवत्वकरण वा दानवीकरण गर्ने र विधिसम्मत बाटो छाडेर ‘हामीले भनेपछि यहीं सत्य हो’ भन्ने अहिलेको ट्रेण्डलाई नेपाल प्रेसले खारेज गरेकै हो ।

उदाहरणका लागि, पछिल्लोपटक सर्वोच्च अदालतका केही न्यायाधीश र केही वरिष्ठ वकिलले प्रधानन्यायाधीशलाई सडकबाट हटाउने अभियान चलाए । आमरुपमा मिडियाले त्यो एजेण्डा सेटिङअनुसार सडकबाट प्रधानन्यायाधीश हटाउने गठबन्धनको सदस्यका रुपमा काम गरिरहेका छन् ।

तर नेपाल प्रेसले संविधान र स्थापित विधिबाहेक अन्य बाटोबाट राज्यका अंगमाथि कब्जा गर्ने संगठित अभियानको विपक्षमा तर्क, तथ्य र प्रमाणका आधारमा फरक कोणबाट विषयवस्तुको उजार गरेको छ । संविधान, कानून र स्थापित विधिबाहिर हुलहुज्जत गर्ने तरिका समाचार सम्प्रेषणको विषय त बन्छ तर मिडिया नै त्यसको अंग बन्नु हुँदैन ।

पत्रकारहरु जुनसुकै सेन्सरसीप वा सेल्फ सेन्सरसीपको विपक्षमा हुन्छन् । तर पछिल्लो समयमा आफ्नो मिसनलाई असर गर्ने कन्टेन्ट पत्रकार वा मिडिया हाउसबाटै सेन्सर गरिने घातक प्रवृतिको विपक्षमा नेपाल प्रेस उभिएको छ ।

हामीले ‘पावर एलिट समूह’ले सेटिङ गरेका एजेण्डा बोक्न नचाहेकै हो । हामीले निश्चित स्वार्थ समूहको भाष्यलाई मिडियामार्फत लबिङ गर्ने आजको ‘मूलधार’को पदचाप पछ्याउन अस्वीकार गरेकै हो ।

एजेन्डा सेटर पावर एलिट, सार्वजनिक विमर्शको नाममा निश्चित स्वार्थ समूहको हितमा भाष्य निर्माण गर्ने प्रभावशाली कथित बौद्धिक जमात र बाह्य एजेन्सी तथा दाताहरुको फण्डिङअनुसार मिडियाले जनमत बनाइदिनुपर्ने दुःखबाट नेपाल प्रेस मुक्त छ । हामीले भनेपछि संविधान, कानून केही होइन अमूक व्यक्ति शक्तिमा आउनुपर्छ र अमूक व्यक्ति हट्नुपर्छ भन्ने मिसन पत्रकारिताको लेठो पनि हामीले बेसाउनु परेको छैन ।

मिडिया सबैको साझा प्लेटफर्म हो । फरक विचारहरुलाई निषेध गर्ने र आफूले चलाएको अभियानलाई साथ हुने विचार तथा अभिव्यक्तिलाई मात्र स्थान दिने संकीर्णताबाट माथि उठ्न हामी सक्यौं र अझै त्यसमा प्रतिबद्ध रहनेछौं । यसो गर्दा भिडभन्दा पृथक देखिनुपर्ला वा कहिलेकहीं एक्लो बृहस्पति पनि हुनुपर्ला तर सत्यभन्दा माथि केही छैन ।

आमसञ्चार माध्यम र सामाजिक सञ्जाल फरक प्लेटफर्म हुृन् । भिडले के रुचाउँछ वा सामाजिक सञ्जालको ट्रेण्ड कता छ, त्यहींअनुसार मिडियाले कन्टेन्ट निर्माण गर्ने हो भने सत्य ओझेलमा पर्न सक्छ । जिम्मेवार मिडियाको कर्तव्य त्यो हो, सत्य सम्प्रेषण गर्दा भिडको गाली खानु परे पनि त्यसलाई स्थापित गर्न प्रतिबद्ध हुनुपर्छ ।

यो एक वर्षले हामीलाई समाज बुझ्ने, पाठक स्रोता दर्शकको रुचि थाहा पाउने र ओझेलमा परेका वा पारिएका एजेण्डा तथा विषयवस्तुलाई उजागर गर्ने बाटो देखाएको छ । व्यथिति, विसंगति र अराजकताविरुद्ध तथ्यसहित उभिँदा जनताको साथ सहयोग र राज्यका नियामक निकायहरुले हाम्रा समाचारका आधारमा अनुगमन तथा एक्सन लिने ठाउँमा पुर्याउन सफल भयौं ।

कोभिड महामारीको बीचमा शुरु भएको हाम्रो यात्रा निकै कठिन, चुनौतीपूर्ण र अत्यासलाग्दो थियो । तर पनि नेपाल प्रेसले व्यवसायिक मूल्य, मान्यता र दृढताको बलमा काँडाहरु पन्छाउँदै आफ्नो यात्रा अघि बढायो । यसबीचमा हामी सामाजिक सुरक्षा कोषमा जाने सिमित मिडिया हाउसभित्र समेटियौं । राज्यका कानून पालना गर्दै अरुलाई पनि कानून पालना गराउन प्रेरित गर्नु हाम्रो कर्तव्य हो ।

एजेन्डा सेटर पावर एलिट, सार्वजनिक विमर्शको नाममा निश्चित स्वार्थ समूहको हितमा भाष्य निर्माण गर्ने प्रभावशाली कथित बौद्धिक जमात र बाह्य एजेन्सी तथा दाताहरुको फण्डिङअनुसार मिडियाले जनमत बनाइदिनुपर्ने दुःखबाट नेपाल प्रेस मुक्त छ ।

पहिलो वर्ष प्रवेश गर्दै गर्दा हामीले आफ्नो कामको आफैं ब्याख्या गर्नुभन्दा पनि आजसम्म हामीले सम्प्रेषण गरेका सामग्री नै मूल्यांकनका आधार हुन् । नेपाल प्रेसलाई आजको ठाउँमा ल्याइपुर्याउन हाम्रो टिम त माध्यममात्र हो, यसको सफलताको वास्तविक हकदार हाम्रा पाठक, विज्ञापनदाता र शुभचिन्तक नै हुन् । यो सार्वजनिक खपतका लागि मात्र हामी भनिरहेका छैनाै ।

हामीले आरम्भकै दिन भनेका थियौं– पत्रकारिता कुन हदसम्म निष्पक्ष वा तटस्थ रहन सक्छ ? यो संसारभर सधैं बहसमै रहेको विषय हो । नेपाल प्रेस निरपेक्ष रूपमा निष्पक्ष हुन सक्दैन । हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।

विभाजित समाजमा मान्छेका मन पनि विभाजित हुन्छन् । मिडियाले त्यसभित्र पसेर पक्षधरता लिनुहुँदैन तर विसंगतिको पक्षमा उभिन सकिन्न । विसंगति र गलत कर्मको पक्षधरता नलिंदा उठ्ने तटस्थताको प्रश्नमा हाम्रो जवाफ हुनेछ– गलतको विपक्षमा उभिनु नै निष्पक्ष पत्रकारिता हो ।

हो हामी निष्पक्ष छैनौं । देशको स्वाभिमान, राष्ट्रियता, जनताको समस्या र राष्ट्रको प्रतिष्ठाका सन्दर्भ आउँदा हामी निष्पक्ष हुन सक्दैनौं ।

देशभक्तिको सन्दर्भमा हामी देशको पक्षमा उभिन्छौं । अन्यायको सन्दर्भमा हामी पीडितको पक्षमा उभिन्छौं । यस्ता विषयमा नेपाल प्रेस ‘ग्रे एरिया’मा रहने छैन ।

अन्तिममा,

पहिलो वर्ष पार गर्दैगर्दा हामी अझ धेरै सल्लाह, सुझाव,आलोचनाको प्यासी छौं । गल्ती सच्याउने तत्परता हाम्रो मान्यता हो । हामी नियतवश गल्ती गर्दैनौं तर असावधानी वा समाचारका स्रोतहरुबाट कहिलेकाहीं हुने त्रुटिका कारण कुनै सामग्री प्रकाशन–प्रसारण हुन गएमा तत्काल सच्याउँछौं ।

नेपाल प्रेस आफ्ना पाठकहरुको निगरानीमा छ र हामी सोसल अडिटका लागि सधैं खुला छौं । नेपाल प्रेसको पहिलो वर्षगाठँमा हामी प्रण गर्छौ– हाम्रो आफ्नो मौलिक र फरक पहिचानसहितको पत्रकारिताको गोरेटोलाई राजमार्गमा विस्तार गर्न प्रतिबद्ध छौं । यसमा तपाईंहरुको साथ सहयोग र हौसला आवश्यक छ ।


प्रतिक्रिया

5 thoughts on “सम्पादकीय- पृथक र चुनौतीपूर्ण यात्राको गौरवशाली एक वर्ष (भिडिओसहित)

  1. बधाई छ । तर ओली र एमालेको भरिया नबन्‍नुहोला, निष्पक्ष बन्‍नु होला । शुभकामना छ।

  2. सबै बिचार र समालोचनाको साझा चौतारी बन्न सक्नुहोस। सुरुवात उत्साहप्रद देखिएको छ।यात्रा निरन्तर रहोस।सनसनीलाई समाचार ठान्ने डुकुलण्ठक अनलाइन पत्रकारिताले मानिसलाई हरिलट्ठक बनाउन लागिसक्यो ।सत्यनिष्ठाको पुनर्जागरणको अभियन्ता बन्न सक्नुहोस।हार्दिक शुभकामना र एक्यवद्धता छ।

Leave a Reply to nagendra dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर