ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ) – Nepal Press

ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

कांग्रेसले जहिले पनि गलत तत्वसँग साँठगाँठ गरेको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन् ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो, ‘के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।’

१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताएका छन् ।

ओलीको प्रश्न छ, ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’

ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाएका छन्। ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेछन्,’ ओलीको भनाइ छ, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’

ओलीले नेपाली कांग्रेसलक्षित टिप्पणी पनि गर्न छुटाएनन् । उनले जहिले पनि नेपाली कांग्रेसले गलत तत्वसँग साँठगाँठ गरेको आरोप लगाए ।

‘नेपाली कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने गर्‍यो,’ उनको भनाइ छ, ‘यो पहिलोदेखि अहिलेसम्म भएको छ । नेपाली कांग्रेसले प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोडोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *