सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध – Nepal Press

सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेर विघटनलाई सही सिद्ध गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले हिजो सुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठमा पनि त्यसलाई निरन्तरता दिएपछि नेताहरुले आक्रोश पोखेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एमव् सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले दुई-दुई पटक गरेको संसद विघटन सही सिद्ध गर्न निरन्तर संसद अवरोध गरेको आरोप लगाएका छन् ।

‘६ महिनाको समयमा दुई-दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलले समाजिक संजालमार्फत भनेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहर्नेछु ।’

पौडेलले यसालई आपत्तिजनक क्रियाकलाप भन्दै यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै सत्तारुढ गठबन्धनको अर्को सहयात्री दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमालेको आलोचना गरेका छन् । ‘नेकपा (एमाले) ले संघीय संसदको बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पदरूपमा प्रहार गरिरहेको छ,’ श्रेष्ठको टिप्पणी छ, ‘अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा(एमाले) लाई गम्भीर अपील गर्दछु ।’

गठबन्धनका अर्का नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इटहरीमा आयोजित एक कार्यक्रममा संसद अवरुद्ध गर्नुको औचित्य नरहेको बताएका छन् । लोकतन्त्रको रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक गठबन्धन एवं प्रतिगमनकारी र दक्षिणपन्थीको गठबन्धन रहेको नेपालको भनाइ छ ।

नेकपा एमालेले संसद् अवरुद्ध गरेका विषयमा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै नेपालले कुनै पनि दलले संसद अवरुद्ध गर्नुको औचित्य नरहेको स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर