राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने – Nepal Press

राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजसंस्थामाथि छानविन गर्नका लागि पार्टीमा राखेको माग सुनवाइ नहुने भएको छ । राप्रपा स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थालाई विवादमा पार्ने गरी कुनै पनि कदम चाल्ने पक्षमा छैनन् ।

पूर्वअध्यक्ष थापाले दुई दिनअघि अध्यक्ष लिङदेनलाई तीनपाने पत्र लेख्दै पार्टीको महाधिवेशनमा राजसंस्थाले हस्तक्षेप गरेकाले यसबारे एउटा समिति नै बनाएर छानविन गर्नुपर्ने माग राखेका थिए । उनले यो विषयको निरुपण नभएसम्म पार्टीले गति लिन नसक्ने थापाको भनाइ छ । साथै, उनले राजालाई बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको समेत बताएका छन् ।

थापाको पत्रमा लिङदेनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । पार्टीको चुनावपछि थापा र लिङदेनबीच पूर्णरुपमा संवादहिनताको अवस्था छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह थापाले बहिष्कार गरेका थिए । लिङदेनले बोलाएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।

लिङदेन थापासँग सहकार्य गरेरै पार्टी चलाउन पक्षमा भए पनि राजसंस्थाप्रति छानविन गर्न भने तयार नभएको स्रोत बताउँछ ।
राप्रपा स्रोतले भन्यो, ‘अध्यक्ष लिङदेन थापालाई उचित सम्मान दिएर पार्टी हाँक्ने पक्षमा हुनुहुन्छ । तर, अनुचित माग पूरा गर्न तयार हुनुहुन्न ।’

अघिल्लो साता राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा समेत लिङदेनले यो विषयमा छलफल हुन नसक्ने स्पष्ट पारेका थिए । थापानिकट केन्द्रीय सदस्य राजाराम श्रेष्ठले फेसबुकमा राजसंस्थामाथि छानविन गर्नुपर्ने भन्दै स्टाटस लेखेपछि केन्द्रीय समितिमा लिङदेनले सो जवाफ दिएका हुन् ।

अध्यक्षमा हारे पनि राप्रपा नेतृत्वमा अहिले कमल थापा पक्षको वर्चश्व छ । तर, राजसंस्थामाथि छानविन गर्नुपर्ने थापाको मागमा उनकै पक्षका धेरै नेता सहमत नरहेको बुझिएको छ ।

राप्रपा केन्द्रीय समितिको बैठकले अघिल्लो साता विभिन्न निर्णय लिएको थियो । पार्टीको अर्को बैठक डाकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर