सराप्ने मात्रै कि एमालेबाट सिक्ने पनि ? – Nepal Press
विचार

सराप्ने मात्रै कि एमालेबाट सिक्ने पनि ?

पछिल्लो समय देशका ठूला राजनीतिक दलको महाधिवेशन एवं राष्ट्रिय सम्मेलनले माहोल गार्माएको छ । देशको ठूलो दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । त्यस्तो अर्को ठूलो दल माओवादी केन्द्रको प्रदेश सम्मेलन भर्खर सकिएको छ । माओवादी पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ । यसबीचमा राप्रपाको पनि अधिवेशन सम्पन्न भएको छ । एमाले र राप्रपाले नयाँ नेतृत्व पाइसकेको छ भने कांग्रेसले पनि केही दिनभित्रै नयाँ नेतृत्व पाउने निश्चित छ ।

चाहे आफू नेतृत्वमा स्थापित हुन होस् वा आफूले चाहेको नेतृत्व स्थापित गर्न, सबै दलका नेता कार्यकर्ता छलफल, बहसमा केन्द्रित भएका छन् । यसले कार्यकर्तामा राजनीतिक जागरुकता बढाएको छ ।

नेपालको ठूलो राजनीतिक दल नेकपा एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा विधान महाधिवेशन गरी यहीं मंसिर १० देखि नेतृत्व निर्माणका निम्ति दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।

उक्त महाधिवेशनबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी र्निवाचित गरेको छ । त्यस्तै केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी, पोलिट्ब्युरोसँगै केन्द्रीय कमिटीमा थप सदस्य मनोनित पनि गरिसकेको छ ।

एमालेले महाधिवेशन सम्पन्न गर्दैगर्दा थुप्रै नकारात्मक र थोरै सकारात्मक टिप्पणी भए । एमालेको महाधिवेशन कर्मकाण्डमा मात्र सीमित हुन्छ भन्दै अनुमान र ठोकुवा गर्ने व्यक्ति नै महाधिवेशनको अवधिमा केही मिडियाका आकर्षक पात्र बने । अनगिन्ती चुनौतीका बाबजुद नेकपा एमालेले विस्तारित र व्यापक लोकतान्त्रिक प्रणालीको अभ्यास अनुसरण गरी नेपालको इतिहासमा पहिलोपटक शतप्रतिशत समावेशी कमिटी निर्माण गरेको छ ।

नेकपा(एमाले)ले नेपालका राजनितिक दलहरुको इतिहासमा पहिलोपटक प्रथम राष्ट्रिय विधान महाधिवेशन असोज १५ देखि १७ मा ललितपुरमा सम्पन्न गरेको थियो । एमालेले अंगीकार गर्ने नीति, विधि, विचार र पद्धतिका बारेमा छुट्टै छलफल गरी राजनीतिक प्रस्ताव, सांगाठानिक प्रस्ताव र विधान संसोधन प्रस्ताव पारित गर्दै पार्टी नेतृत्व निर्माणका निम्ति राष्ट्रिय महाधिवेशन तोकेको थियो ।

राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरेका वडा र पालिका अधिवेशनहरुको मितिमा एकरुपता गर्ने कुरा पनि एमालेका निम्ति पहिलो अभ्यास थियो र हो ।

तत्कालीन माले र माक्र्सवादी पार्टीको एकीकरणपश्चात् २०४७ मा बनेको नेकपा(एमाले)ले सधैं आफूलाई समयानुकुल समीक्षा र नवीकरण गरेको पाइन्छ । जसको निरन्तरता बरकरार राख्न वर्तमान पार्टी नेतृत्व पनि सफल भयो ।

२०४९ साल अघिसम्म चीन, सोभियत संघ, भारत, उत्तर कोरिया, भियतनाम, पेरुलगायत देशका कम्युनिष्ट पार्टीहरुको सिको सिक्दै नेपालका कम्युनिष्ट पार्टीले काम गरेको आरोप थियो । उक्त आरोप सत्यनिकट थियो ।

तर पछि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अगुवाइमा २०४९ सालमा ‘जनताको बहुदलीय जनवाद’ नामक लोकतान्त्रिक कम्युनिष्ट विचारको नयाँ धारको विकासले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँपन थपिएको थियो । त्यस्तै सरकार संचालनको सन्र्दभमा पनि नेकपा एमाले २०५१ सालको आम निर्वाचनपश्चात तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना सरकार संचालन गर्दा र उक्त सरकारले सामाजिक न्यायका निम्ति उल्लेखनीय, उदारणीय काम गरी कम्युनिष्टलाई हेर्ने आम दृष्टिमा सकारात्मक बदल आएको थियो ।

त्यही अल्पमतको सरकारका राम्रा कामका कारण परम्परागत शैलीमा सरकार संचालन गर्दै आएका तत्कालीन शासक नयाँ तरिकाले सोच्न बाध्य भएका थिए । र त्यसपछि बनेका नेपाली कांग्रेसलगायतका दक्षिणपंथी पार्टीका सरकारले जनपक्षीय काम गर्न नसके पनि कुरा जनपक्ष्सय गर्न थाले ।

नेकपा एमालेको विगतदेखि वर्तमानसम्मका कामको समीक्षा गर्दा माधव नेपाल र झलनाथ खनालबाहेक तत्कालीन महासचिव मदन भण्डारी, मनमोहन अधिकारी र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको पालामा केही नयाँ आयाम पार्टीमा स्थापित गरेको पाइन्छ । कमरेड मदन भण्डरीले विचारको क्षेत्रमा, कमरेड मनमोहनले सामाजिक न्यायको क्षेत्रमा र कमरेड केपी ओलीले राष्ट्रियता, विकास निर्माण र पार्टीको संगठनात्मक संरचना पूर्णसमावेशी बनाउने क्षेत्रमा अतुलनीय योगदान गरेको देखिन्छ ।

व्यवहारिक सफलताका कारण नवौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेकपा एमालेले आफ्नो मार्गदशर्न सिद्धान्त बनाएको थियो । जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने लक्ष्य बोकेको एमालेले आफ्नो राजनीतिक इतिहासमा कहिले वैचारिक र कहिले सांगठानिक स्वरुपहरुमा नयाँपन दिँदै आएको छ ।

प्रथम विधान महाधिवेशनमा जबजको जगमा विद्यमान समाजका चरित्रकाबारेमा व्यापक छलफल गरी जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने सर्वसम्मत निष्कर्ष निकालेको थियो । त्यस्तै भर्खरै चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनले जबजको कार्यन्वयनका निम्ति प्रतिस्पर्धा र सर्वसम्मति दुवै प्रणालीको व्यापक व्यवहारिक अभ्यासमार्फत कमरेड केपी ओलिको नेतृत्वमा पार्टीको संगठनात्मक संरचनामा नयाँपन दिन एमाले सफल भएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम संविधानको कार्यान्वयन गर्ने नेपालको पहिलो राजनीतिक दल एमाले भएको छ ।

स्वाभाविकरुपले नेकपा एमाले लोकतान्त्रिक कम्युनिष्ट पार्टी हो । यसले अभ्यास गर्ने लोकतन्त्र पनि प्रगतिशील लोकतान्त्रिक प्रणालीअन्र्तगत हुन्छ, जुन बुर्जुवा लोकतान्त्रिक शक्तिहरुले अभ्यास गर्नेभन्दा फरक, क्रान्तिकारी, व्यापक, विस्तारित र उन्नतस्तरको हो ।

नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक प्रणालीको व्यवहारिक अभ्यास वडा, पालिका अधिवेशन हुँदै राष्ट्रिय महाविधेशनसम्म गरेको छ । सर्वसम्मपति एउटा उन्नत समझदारपूर्ण लोकतान्त्रिक अभ्यास हो । सर्वसम्मति नभए निर्वाचन हुनु लोकतन्त्रको अर्को विशेषता हो ।

कोहीकोहीले एमालेमा आन्तरिक लोकतन्त्र नभएको भन्दै आलोचना पनि गरे । त्यो एउटा अराजनीतिक आरोप थियो, त्यसलाई व्यवहारले नै प्रतिवाद गरेको छ । बरु एमालेभित्रको आन्तरिक प्रतिस्पर्धाले एकतालाई झन् शक्तिशाली बनाएको छ । बुर्जुवा आरोपीहरुको मुखमा एमालेले बुजो लगाइदिएको छ ।

यसले एमालेलाई उदाहरणीय दलको रुपमा प्रस्तुत गरेको छ । समावेशीतासँगै आन्तरिक लोकतन्त्र र एकताका लागि अरु दलले पनि एमालेबाट सिक्न जरुरी छ । एमालेलाई उछितो काड्ने होइन । अझ खासगरी कांग्रेस, माओवादी जस्ता दलले एमालेको विचार, व्यवहारबाट सिक्दै अघि बढे उनीहरुकै लागि श्रेयस्कर हुनेछ ।

(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.