दुई दिनमै १६८ अंकले घट्यो नेप्से, साना लगानीकर्ता आत्तिँदा मौका छोप्दै ठूला – Nepal Press

दुई दिनमै १६८ अंकले घट्यो नेप्से, साना लगानीकर्ता आत्तिँदा मौका छोप्दै ठूला

काठमाडौं । ओरालो यात्रामा रहेको नेपालको सेयर बजार पछिल्लो दुई दिनमा थप धराशयी बनेको छ । सेयर बजार परिसूचक नेप्से दुई दिनमै १६८.२७ अंकले घटेपछि साना लगानीकर्ता आतंकित बनेका छन् ।

आइतबार ८८.७० अंकले घटेको बजार आज ७९.२३ अंकले घटेर २२८२ अंकको विन्दुमा झरेको हो । साना लगानीकर्ता ‘पेनिक’ हुँदा आज बजारबाट ठूला लगानीकर्ताले मौकामा चौका हान्न खोजेका छन् । पेनिक सेल्सका कारण हिजोको तुलनामा आज सेयर संख्या र कारोबार रकम दुवै बढेको छ । भविष्यमा बढ्ने आशामा ठूला लगानीकर्ताले सेयर ओगटेका छन् ।

आज २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिद-बिक्रीबाट ३ अर्ब ९९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको यो । आइतबार २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब १९ करोड ९१ लाख रूपैयाँबराबरको मात्रै कारोबार भएको थियो ।

आज सबै समूहगत उपसूचकहरु घटेका छन् । बैंकिङ समूह ३४.११ अंक, व्यापार समूह ९९.११ अंक, होटल तथा पर्यटन समूह ५४.९२ अंक, विकास बैंक समूह २११.७६ अंक, जलविद्युत समूह १०५.८२ अंक, वित्तीय समूह १३३.९१ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा समूह ५४५.९८ अंक, उत्पादन तथा प्रशोधन समूह १७१.७२ अंक, अन्य समूह ६३.०४ अंक, लघुवित्त समूह १८७.३३ अंक, जीवन बीमा समूह ४२५.३३ अंकले घटेको छ ।

आजको घटेको बजारमा पनि १२ कम्पनीको सेयर कारोबार बढेको छ । जसमा गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.४७ प्रतिशत, बोटलर्स नेपाल (तराई) ले ५.४० प्रतिशत, माउन्टेन इनर्जी नेपालले ३.९२ प्रतिशतले कमाएका छन् । आज स्वभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतले गुमाएका छन् । १८ करोड सेयर कारोबार गर्दै नविल बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको छ ।

सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दुई दिनअघि सेयर बजारबारे नकारात्मक टिप्पणी गरेका थिए । त्यसको असर बजारमा देखिएको लगानीकर्ता बताउँछन् । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले वक्तव्य जारी गर्दै साना लगानीकर्ताको हित संरक्षणका लागि प्रचण्ड प्रतिबद्ध रहेको बताए पनि बजार घट्ने क्रम रोकिएको छैन ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको भवन उद्घाटन कार्यक्रममा सेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै उनले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने धारणा राखे ।

नेता तथा नीति निर्माताबाट वेलावखतमा सेयर बजारप्रति गर्ने अनावश्यक टिप्पणीले साना लगानीकर्ता भन्दा पनि ठूलालाई फाइदा पुग्ने सेयर विश्लेषकहरु बताउँछन् । ठुला लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गरेर प्राप्त भएको नाफा सेयर बजारमा लगानी गर्ने गर्छन् । बजार घटेर पेनिक सेल्स भएका बखत सेयर किनेर थुपार्ने अनि बजार बढेपछि बेच्ने उनीहरुको प्रवृत्ति हुन्छ । अहिले ठूला लगानीकर्ता यही होडमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *