वीरगञ्ज सुख्खा बन्दरगाहको काम अब अनलाइनबाट – Nepal Press

वीरगञ्ज सुख्खा बन्दरगाहको काम अब अनलाइनबाट

वीरगञ्ज । माघ १ गतेबाट वीरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू गरिने बताएका छन् ।

शनिबार वीरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताएका हुन् । नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको उनले बताए । अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानु पर्नेमा जोड दिए ।

प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘अहिलेसम्म सबै काम अनलाइन हुन सकेको छैन्। केही अनलाइन प्रणाली सुरु भए पनि सबै कागज र नगद रहित काम हुन बाँकी छ । प्रतिशतको हिसावका यति प्रतिशत कागज रहित भयो भन्ने स्थिति रहेको छैन्। प्रणाली लागू गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयारी पुरा भएको छ । त्यस्तै, आइसिपी स्थापना भएसँगै व्यवसायीहरुलाई सजिलो भएको छ । विदेशबाट आयात गरिएको सामान छोटो समयमा नै बजारमा पुग्ने, खर्च अर्थात लागत कम हुदै गएको छ । अझ पूर्ण रुपमा अनलाइन प्रणाली लागूभए पछि व्यवसायी र सरकार दुबैलाई राम्रो हुन्छ ।’

पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको बताए । भन्सारमा विदेशबाट आएका समान तथा ट्रक÷कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको उनी बताउँछन् ।

चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा मेसिन प्रयोग विहिन भएर बसेको छ । भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावको कारण भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नु पर्ने, भन्सारमा कन्टेनरहरु थुप्रिएर बस्ने,जाम हुने गरेको बताए । बिग्रिएको मेसिन बनाउने प्राविधिक भारत तथा चीनबाट नै ल्याउनु पर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको समेत गुनासो गरे ।

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका विरगञ्ज प्रमुख कमल ज्ञवालीले आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने गरिरहेको बताए ।

उनले भने,‘आइसिपीले समय र लागतलाई कम गरी समयलाई सहजिकरण गर्ने गरेको छ । सहजिकरणको लागि आइसिपीमा १० वटा लेन रहेको छन्। त्यही अनुसार समितिले गाडीको व्यवस्थापन गर्ने गरेको छ । त्यस्तै, आइसिपीले पनि विभिन्न पार्किङ, इन्ट्रि शुल्क गोदाम शुल्क शिर्षकमा राजश्व उठाउन गरेको छ। चालु आर्थिक वर्षमा ११ करोड ८९ लाख ५४ हजार ५३१ रुपैयाँ संकलन भएको छ। गत वर्ष ३० करोड ६ लाख ४१ हजार १६८ रुपैयाँ राजश्व संकलन गरिएको थियो। गत वर्ष २ लाख १७ हजार ७ सय ९९ आएको थियो।’

वीरगञ्ज भन्सारले बिदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *