काठमाडौं महानगरले तीन दिन महानगर दिवस मनाउने (भिडिओ)


काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको बताएका हुन् ।
उनले २७ औँ महानगर दिवसमा,सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताए ।
प्रवक्ता डंगोलले भने,‘२०५२ सालको मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो । त्यसपछि हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको छ । यसक्रममा यो वर्ष २७ औँ महानगर दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै मंसिर २७,२८ र २९ गते गरी तीन दिन मनाउने निर्णय भएको छ । यस वर्ष महानगर दिवसको अवसरमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिनेछ ।’
प्रवक्ता डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताए ।