अपराधको दुनियाँबाट राजनीतिमा प्रवेश, कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै दुई चर्चित डन – Nepal Press

अपराधको दुनियाँबाट राजनीतिमा प्रवेश, कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै दुई चर्चित डन

काठमाडौं । गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित भएर जेलनेल भोगेपछि राजनीतिमा लागेका दुई ‘बाहुबली नेता’ कांग्रेसको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेल अस्वस्थ प्रतिस्पर्धा भयो भनेर बाहिरिँदै गर्दा गुण्डा नाइकेको उपाधी पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वका लागि भिडेका छन् ।

कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार भएका छन् । उनीहरू दुवैजना सभापति उम्मेदवारको प्यानलमा पर्ने प्रयासमा छन् ।

राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली ५० को दशकमा गुण्डागर्दी र अपराधको दुनियाँका चर्चित हस्ती थिए । २०५९ सालमा उनले रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुलाई तरबार हानेर हत्या गरेपछि १० वर्ष जेल सजाय पनि भोगे ।

जेलबाटै उनले अपराधको दुनियाँ चलाउँथे । पछिल्लोपटक २०७६ माघमा अपराध महाशाखाले विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा पक्राउ गरी उनीविरुद्ध आपराधिक ठगी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाएको थियो ।

गोर्खा घर भएका गोर्खाली काठमाडौंको चाबहिल क्षेत्रलाई आफ्नो आधार इलाका बनाएर गुण्डागर्दी थालेका थिए । पछि उनी काठमाडौंकै महसुर डन बने । तर, महाधिवेशन प्रतिनिधि भने उनी सिन्धुपाल्चोकबाट बनेका छन् ।

गोर्खा घर र काठमाडौं कार्यथलो भएका गोर्खाली ईन्द्रावती गाउँपालिकाको भोटशिपाबाट क्रियाशील सदस्य लिएको पाइएको छ । कांग्रेस सहमहामन्त्रीका उम्मेदवार विकास लामाको वडाबाट उनले सदस्यता लिएर ३० लाखभन्दा बढी नगद खर्च गरी चौथो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेको सिन्धुका कांग्रेसहरू बताउँछन् ।

उनी डा. शेखर कोइरालाको प्यानलमा पर्न खोजिरहेका छन् । तर, उनी विगतमा शेरवहादुर देउवा निकट थिए । अर्का बाहुबली गणेश लामा देउवाको प्यानलबाट पर्ने भएपछि गोर्खाली अर्को प्यानलमा पर्न प्रयासरत रहेका छन् ।

अपराधको दुनियाँका चर्चित डन गणेश लामा भने यसअघि काभ्रेबाट कांग्रेसको उम्मेदवार भइ प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा चलिरहेका छन् ।

हत्या, अपहरण, फिरौतीलगायतका मुद्दामा पटक-पटक जेल परेका लामामाथि अर्को गुण्डा समूहले दुई वर्षअघि गौशालामा गोली हाने पनि उनी बाँच्न सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर