साझा उम्मेदवारको सम्भावना क्षीण, उम्मेदवारी घोषणा गर्दै प्रकाशमान – Nepal Press
कांग्रेस महाधिवेशन

साझा उम्मेदवारको सम्भावना क्षीण, उम्मेदवारी घोषणा गर्दै प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना क्षीण हुँदै गएको छ । शुक्रबार रातभर गरिएको प्रयासले सार्थकता नपाएको नेताहरुले बताएका छन् । सभापतिमा दाबी गरेका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई सहमत गराएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउन गरिएको प्रयास असफल भएको हो ।

महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । संस्थापनइतर पक्षका नेताहरुले सहमतिका लागि अन्तिम प्रयास भइरहेको जनाएका छन् । शुक्रबार रातिको बैठकमा सभापतिका दावेदार डा।शेखर कोइराला पौडेललाई साझा उम्मेदवार मान्न तयार भएका थिए । यद्यपि सिंहले जुनसुकै अवस्थामा पनि ब्याक नहुने अडान लिएपछि सहमति जुट्न सकेको थिएन ।

यसैबीच आफूलाई साझा उम्मेददार नबनाउने संकेत पाएपछि पूर्वमहामन्त्री सिंहले केहीबेरमा सभापतिको औपचारिक उम्मेदवारी घोषणा गर्दैछन् ।

रामशाहपथस्थित सम्पर्क कार्यालयमा प्रकाशमानको उम्मेदवारी घोषणाको तयारी भइरहेको छ । १० बजे उम्मेदवारी घोषणाका लागि नेता, कार्यकर्ता एवं महाधिवेशन प्रतिनिधिहरुलाई सूचना गरिएको छ । ‘दश साढे १० बजेतिर औपचारिक उम्मेदवारी घोषणा हुन्छ । अहिले टिम बनाउने तयारी छ’, सिंहनिकट एक नेताले भने ।

सिंहको टिमबाट सुजाता कोइराला उपसभापति लड्ने निश्चित भएको छ ।

सिंहले उम्मेदवारी घोषणाको तयारी गरिरहँदा वरिष्ठ नेता पौडेलसहितका नेताहरु भने बोहराटारमा आन्तरिक छलफलमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर