कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, उम्मेदवार छान्न दुवै समूहलाई सकस – Nepal Press

कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, उम्मेदवार छान्न दुवै समूहलाई सकस

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ । तर, अझैसम्म कांग्रेसका देखिएका दुई समूहबीच उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

कांग्रेस विधानअनुसार १ सभापति , २ उपसभापति , २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्यीय कार्यसमितिका लागि आज मनोनयन दर्ता हुन लागेको हो । मतदान बजे सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा कृष्ण सिटौला समूहका नेता प्रदिप पौडेलले उम्मेदवारी दिने सहमति भएको बताइएको छ । तर, उक्त समूहका महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्माले यसबारे प्रष्ट धारणा सार्वजनिक गरेका छैनन् । त्यस्तै उससभापति र सहमहामन्त्रीसँगै सदस्यहरुका लागि उम्मेदवार टुंग्याउन उक्त समूहले छलफल गरिरहेको छ ।

संस्थापनइतर समूहमा सभापतिकै उम्मेदवार टुंग्याउन सकस भइरहेको छ । साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकमा पनि सहमति जुट्न सकेन । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार तय गर्नेबारे गरेको छलफल सकरात्मक दिशमा अघि बढे पनि सहमति हुन नसकेको नेता शेखर कोइरालाले जानकारी दिए ।

खासगरी कोइराला र नेता प्रकाशमानसिंहले अडान नछाडेपछि समहमतिमा सकस परेको बताइएको छ । उक्त समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आकांक्षा गरेका छन् । शशांकले सहमति हुने अवस्थामा आफू बाधक नबन्ने बताइसकेका छन् ।

त्यस्तै पौडेलले पनि सहमति भएको अवस्थामा आफू बाधक नबन्ने बताएका छन् । यद्यपि, दुई नेताले एकोहोरो दाबी गरिरहँदा आफू साझा उम्मेदवार बन्न पाउने आश पौडेललाई छ ।

नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर