कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री, प्रचण्डसँग एक वर्ष र नेपालसँग ५ महिनापछि एकै मञ्चमा – Nepal Press

कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री, प्रचण्डसँग एक वर्ष र नेपालसँग ५ महिनापछि एकै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘इन्ट्री’ गरेका छन् । आमन्त्रित अतिथि नेताहरूमध्ये सबैभन्दा ढिला गरी उनी उद्घाटनस्थलमा उपस्थित भएका हुन् ।

ओली कार्यक्रमस्थलमा आउँदा कांग्रेस कार्यकर्ताहरूले हुटिङ गरेका थिए । ओलीलाई मञ्चमा आसिन नेताहरूले नमस्कार गर्दै स्वागत गरे । मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका छन् । ओलीका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सि छाडिदिएका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु भने यसअघि नै कार्यक्रम स्थलमा आइपुगेका थिए । यसअघि एउटै पार्टी नेकपामा रहेका ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा रहेको यो पहिलोपटक हो । पार्टी विभाजनपछि एकअर्काको अस्तित्व अस्वीकार गरिरहेका उनी एउटै मञ्चमा देखिन कांग्रेस महाधिवेशन कुर्नुपरेको हो ।

गत पुस ५ मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपाको विभाजन उत्कर्षमा पुगेको थियो । संसद विघटनयता ओली र प्रचण्ड एउटै मञ्चमा देखिएका थिएनन् । यद्यपि उनीहरुबीच एक/दुई पटक टेलिफोन संवाद भने भएको छ। त्यस्तै गत असार २३ यता ओली र नेपालबीच पनि प्रत्यक्ष भेट भएको छैन। एमाले विभाजन रोक्न गत २३ असारमा ओली र नेपालबीच संवाद भएको थियो ।

तर, एमाले विभाजन रोकिएन । त्यसयता ओली र नेपालले एउटै मञ्च सेयर गरेका छैनन् । ओली र नेपालले एकअर्का लक्षित वक्तव्य दिने गरेका छन् । त्यस्तै कटाक्ष पनि गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर