गमगढी आगलागी पीडितका लागि कर्णाली सरकारले ल्यायो यस्ताे राहत प्याकेज


सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुको छायाँनाथ रारा नगरपालिका– १ गमगढी बजारमा गत कार्तिक २९ गते भएको आगलागी पीडित परिवारका लागि राहत प्याकेज सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले आगलागी पीडित ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको प्रदेश सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए ।
आगलागीबाट १० लाखसम्म क्षति भएका परिवारले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख ५० हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुर्इ लाख र एक करोडदेखि डेढ करोडसम्म क्षति भएका परिवारले दुई लाख ५० हजार रुपैयाँ राहत पाउनेछन् । यस्तै, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षती भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने उनले बताए ।
मन्त्री विष्टका अनुसार आंशिक रुपमा एक लाख क्षति भएका घर परिवारले २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट पचहत्तर हजार राहत रकम पाउने छन् ।
आगलागीबाट व्यवसायमा क्षति पुगेको पीडितका लागि २० लाखसम्म भएमा तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षती भएकाले एक लाख राहत रकम पाउने छन् ।
घरभाडा बस्नेलाइ भने १० लाखसम्मको भएकाको हकमा २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएको हकमा ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ ।