दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने मीन विश्वकर्माको घोषणा – Nepal Press

दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने मीन विश्वकर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मीन विश्वकर्माले पार्टीको दलिततर्फको सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री बनाउने व्यवस्था गरिएकाले त्यही व्यवस्थाअनुसार आफूले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले पत्रकार सम्मेलनमा बताए । विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनल भने, ‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ । त्यसैले मैले अहिले यहाँहरुमाझ आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।’

नेपाल दलित संघका अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनबाट दुइ कार्यकाल केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । अहिले प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्व उद्योग, वाणिज्ण तथा आपूर्तिमन्त्री र संविधानसभा सदस्यसमेत रहेका छन् ।

कांग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गर्दै विश्वकर्माले भने, ‘कांग्रेस जन्मिँदैदेखि समावेशितालाई जोड दिदै आएको छ । दलित समुदायको लागि मात्रै नभएर समग्र समावेशी पक्षका लागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन् । अहिलेको समावेशी संविधान जारी गर्ने काममा पनि कांग्रेसको महत्वपुर्ण योगदान रहेको छ ।’

बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले संविधान तथा विधानमार्फत कार्यान्वयनमा लगेको विश्वकर्माले ठोकुवा गरे । ‘कांग्रेसको संगठन विस्तार हुदै गर्दा त्यो बेला पार्टीको समावेशी विधान थिएन । यतिमात्र नभएर संविधान पनि समावेशी थिएन । तर बीपीले कांग्रेसलाई समावेशी बनाउनुभएको थियो । अहिले संविधानमात्रै नभएर नेपाली काँग्रेसको विधान पनि समावेशी छ र, कांग्रेस पनि समावेशी भएको छ । त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुदैँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर