महिला भलिबलः राष्ट्रिय टोलीमा स्थान बनाउन खेलाडीबीच कडा प्रतिस्पर्धा – Nepal Press

महिला भलिबलः राष्ट्रिय टोलीमा स्थान बनाउन खेलाडीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्ल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । ढाकामा डिसेम्बर २१ देखि २९ सम्म चल्ने प्रतियोगितामा उपाधि रक्षाको लक्ष्य राखेको नेपाली टोलीले कात्तिक २८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

कोरोना भाइरसका कारण एसियन च्याम्पियनसीपमा सहभागिताको मौका गुमाएको १७ सदस्यीय नेपाली टोलीमा ३ खेलाडी थपेर २० जना खेलाडीसहित बन्द प्रशिक्षण सुरु भएको करिब एक महिना बितिसकेको छ । यो अवधिमा २० बाट विभिन्न चरण हुँदै बिहीबारसम्म १५ जना खेलाडी बन्द प्रशिक्षणमा छन् ।

ती १५ खेलाडीले च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा हुनुअघिको अन्तिम ट्रेनिङ बिहीबार दिउँसो ४ बजेसम्म गरिसकेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगिताको पछिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।

सोही उपाधि रक्षा गर्ने प्रमुख लक्ष्यसहित तयारीमा जुटेका खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन मेहेनत र प्रतिस्पर्धामा कुनै कसर बाँकी नराखेको मुख्य प्रशिक्षक भट्ट बताउँछन् ।

‘खेलाडीहरूबीच टोलीमा स्थान बनाउन चरम प्रतिस्पर्धा छ । हामी (प्रशिक्षक)हरूलाई पनि खेलाडीबीचको प्रतिस्पर्धाले छनोटमा दबाब बनाएको छ,’ उनले भने, ‘यद्यपि, यसरी छनोटमा दबाब हुनु टोलीका लागि एकदमै सकारात्मक पक्ष हो । यसले टोलीको स्तर बढेको भान हुन्छ ।’

प्रशिक्षक भट्टले मंसिर १८ गते घोषणा गरेको १५ सदस्यीय टोलीमा लामो समयदेखि निरन्तर टोलीमा रहेकी रेश्मा भण्डारी परिनन् । त्यस्तै, १३औं दक्षिण एसियाली खेलकुद र सेन्ट्रल जोनको पछिल्लो संस्करण खेलेकी पुनम चन्दले पनि अन्तिम १५ मै स्थान बनाउन सकिनन् । त्यसबाट पनि टोलीमा प्रतिस्पर्धा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । बरू केही समयअघि नै देशको प्रतिनिधित्व गरेर फेरि टोलीबाहिर रहेका खेलाडीहरू– शान्ती थारू, कविता भट्ट, कृपा अधिकारी, कामना विष्ट, सरस्वती जैसी र मनिषा चौधरीले अन्तिम १५ मा स्थान बनाउँदै टोलीमा पुनरागमनको संकेत दिए । यस्तै, नेपाल पुलिसबाट घरेलु प्रतियोगिता खेलिरहेकी लक्ष्मी चन्दले पनि पहिलोपटक अन्तिम १५ मा स्थान बनाइन् ।

यसैबाट पनि राष्ट्रिय टोलीमा प्रतिस्पर्धा बढेको स्पष्ट हुने मुख्य प्रशिक्षक भट्टको बुझाई छ । यसअघिको छनोटबाट १५ जनामै अपेक्षित केही खेलाडीले स्थान नबनाएसँगै खेलाडीले अझै आफूमा निखार ल्याउन मेहेनत गरेको उनी बताउँछन् ।

‘खेलाडीहरूले टोलीमा स्थानका लागि बढेको प्रतिस्पर्धा राम्ररी बुझेका छन्, त्यसैअनुसार आफूलाई अब्बल बनाउन मेहेनत पनि गरेका छन्,’ उनले भने, ‘अहिले टोलीमा कोही पनि आफ्नो छनोटलाई लिएर निर्धक्क छैनन्, र नम्बर एक वा अन्तिम नम्बर पनि कोही छैन ।’

टोलीमा कुनै पनि खेलाडीको स्थान सुरक्षित नभएको र ट्रेनिङ, फिटनेस, हाइट, मेहेनत र ‘गेम प्ले’ हेरेर प्रशिक्षक मण्डलले उत्कृष्ट १२ जनाको टोली छनोट गर्ने भट्टले बताए ।

यसअघिसम्म नेपालको लक्ष्य सहभागितामा मात्रै सीमित हुँदै आएको तर यो संस्करणबाट जित लक्ष्य हुने उनको भनाई छ ।

‘यसअघि नेपाल सहभागितामै सीमित हुँदै आएको थियो । तर, अब नेपालको लक्ष्य उपाधि रक्षा हो, जित हो,’ उनले नेपाल प्रेससँग भने, ‘भोलिसम्म बंगलादेश जाने अन्तिम टोलीको टुङ्गो लाग्ने छ । र, अब नेपाली महिला टोलीको खेल हेर्दा पहिलेको भन्दा स्तर वृद्धि भएको सहजै अनुभूत हुनेछ ।’

प्रतियोगिताका लागि एक जना मात्रै लिबेरो राखेर बंगलादेश जाने १२ सदस्यीय टोली घोषणा गर्ने भट्टले बताएसँगै न्यू डायमन्डकी सलिना श्रेष्ठ र आर्मीकी सरस्वती जैसीमध्ये एक जनाले मात्रै बंगलादेशको टिकट पाउने निश्चित भएको छ । बिहीबार दिउँसोसम्म सबै १५ जनाले ट्रेनिङ गरिसकेका छन्, र यो अन्तिम टोली सार्वजनिक हुनुअघिको अन्तिम ट्रेनिङ भएको पनि प्रशिक्षकले बताए ।

कात्तिक २८ गतेदेखि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ट्रेनिङ गरिरहेको छ ।

अहिले बन्द प्रशिक्षणमा रहेको १५ सदस्यीय महिला टोलीः

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारू, सुनिता खड्का, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, कविता भट्ट, मनिषा चौधरी, अरूण शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र सरस्वती जैसी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर