ट्राफिक कारबाही परेकै ठाउँबाट जरिवाना तिर्न सकिने (भिडि‌ओ) – Nepal Press

ट्राफिक कारबाही परेकै ठाउँबाट जरिवाना तिर्न सकिने (भिडि‌ओ)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुआत गरेको छ ।

बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुआत गरेको हो ।

तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए । उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताए ।

उनले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने बताउनु भयो । प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताउनु भयो ।

प्रमुख भट्टराईले भने, ‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यो बीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो । यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनु पर्छ भनेर फील्डबाट नै मुक्ति दिन यो व्यवस्थाको शुरुवात गरेका हौँ । अहिले हामीसँग एप डाउनलोड गरेका ५ वटा मोबाइल मात्रै छन् । त्यसबाट हामी स्टार्ट गर्दछौँ ।’

महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको हो ।

त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाएपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *