जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू – Nepal Press

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण शुरू भएको छ । ई–पासपोर्ट वितरण कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार एक कार्यक्रमका विच सुभारम्भ गरेकी हुन् ।

राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै वितरण भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि शुरू भएको प्रमख जिल्ला अधिकारी शर्माले नेपाल प्रेसलाई जानकारी दिईन । उनका अनुसार मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपीको नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्नेगरी सेवा शुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ । विभागले ६६ पृष्ठको राहदानी १० हजार शुल्क तिरेर लिन सकिन व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी परियारले नेपाल प्रेससँग बताईन ।

भक्तपुरका हकमा दैनिक २० जनाको मात्रै राहदानी बनाउने गरी कोटा निर्धारण भएकाले अहिलेलाई स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने छन् । जिल्ला बाहिरका बासिन्दाका हकमा सरकारी कर्मचारी र अन्यका हकमा बसाइँसराइको कागज अनिवार्य पेश गर्नुपर्नेछ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्ने जानकारी दिँदै प्रजिअ शर्माले यो राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुनेगरी तयार पारिएको छ । एमआरपीको समय सीमा भएकाले भने विद्युतीय राहदानी बनाउन आवश्यक छैन् ।

यही मङ्सिर एक गतेदेखि ई–पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । यसका लागि विभागले मङ्सिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेको छ भने मङ्सिर २८ गतेदेखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्ने भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले ई–पासपोर्ट प्रचलनमा ल्याएको हो । यसलाई देशभरि विस्तार गर्ने योजनामा राहदानी विभाग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर