‘शक्ति परीक्षणका लागि पनि कांग्रेस एक्लै चुनाव लड्नु पर्छ’ – Nepal Press

‘शक्ति परीक्षणका लागि पनि कांग्रेस एक्लै चुनाव लड्नु पर्छ’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत भएको प्रदेश अधिवेशनबाट कर्णाली कांग्रेसको सभापतिमा निर्वाचित भए, नेता ललितजंग शाही । कांग्रेस संस्थापन पक्षका शाहीको राजनीतिक इतिहास गौरवशाली छ ।

२०३६ साल माघ २० गते कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासँगको भेटपछि उनी कांग्रेस बनेका हुन्, जतिबेला बहुदल स्थापनाका लागि आन्दोलन भइरहेको थियो ।

२०३६ सालको जनमत संग्रहका बेला कालिकोटको इन्चार्ज बनेका शाही पछि जुम्लाको सहसचिव भए । बहुदल पुर्नबहाली भएपश्चात उनले २०४९ देखि २०५२ सालसम्म जुम्लाको कार्यवाहक सभापतिको भूमिकामा रहेर काम गरे । २०७० सालको संविधानसभा सदस्य निर्वाचित उनीसँग कार्णाली कांग्रेस सभापतिमा निर्वाचित भएपछि गरिएको कुराकानी–

कांग्रेसकै दुई पक्षबीच भएको चुनाव तपाईंले जित्नुभयो । अब पराजय व्यहोरेका साथीहरुलाई कसरी समेटेर अघि बढ्नुहुन्छ ?

पराजयको महसुस हुनै नदिने गरी काम गर्ने योजना बनाएको छु । यो व्यक्तिको हारजितभन्दा पनि लोकतन्त्रको जित हो । जित्ने पनि कांग्रेस, हार्ने पनि कांग्रेस भएकाले सबैलाई मिलाएर, एकतावद्ध गराएर नै अघि बढ्छु । संगठनलाई झन् सदृढ र सशक्त बनाउछु ।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसलाई अंगिकार गरिपछि नतिजालाई स्वीकार्नै पर्छ । यहाँ गुट वा धारलाई मेटेर, सबैलाई समेटेर अघि बढ्छु ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले प्रदेशसभामा एक सिटमै चित्त बुझाउनु परेको थियो । अब कांग्रेसलाई जिताउने गरी बढ्न तपाईंसँग के योजना छन् ?

प्रदेशसभा ४० सिट नै जित्छौं त म भन्दिनँ । तर सकेसम्म दुईतिहाइ, नसके पनि बहुमत सिट जितेर कर्णालीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी योजना र तयारी गर्नेछौं । २०७४ को निर्वाचनमा दुई ठूला पार्टीबीच तालमेल भएका कारण त्यस्तो भएको हो, अब त्यस्तो हुँदैन ।

अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म जाला कि नजाला ? यहाँ के होला ?

यसको निर्णय त केन्द्रले नै गर्ला । तर म चाहिँ गठबन्धन नगरी चुनाव लड्नु पर्छ भन्ने पक्षमा छु । चुनाव जित्नु मात्रै सबै चिज होइन । आफ्नो शक्ति परीक्षणका लागि पनि कांग्रेस एक्लै चुनाव लड्नु पर्छ ।

कर्णालीमा कांग्रेस बलियो बनाउने तपाईको योजना के छ ?

पार्टीको केन्द्रीय महाधिवेशन सकिएपछि कांग्रेस थप चलायमान हुन्छ । कर्णालीका दशै‌ जिल्लामा पार्टी सुदृढीकरण र एकताको अभियान सुरु गर्छौं । पहिला हामी गुट र उपगुटमा विभाजित कांग्रेसमा भावनात्मक एकता कायम गर्दै अघि बढ्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर