एकान्तबासमा रहेर कस्तो प्रतिवेदन लेख्दै छन् प्रचण्ड ? – Nepal Press

एकान्तबासमा रहेर कस्तो प्रतिवेदन लेख्दै छन् प्रचण्ड ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान अहिले विचारको विकास गर्ने र विचार संश्लेषण गर्ने रहेको बताएका छन्।

आगामी पुस ११-१३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि दुई दिनदेखि एकान्तबासमा रहेका प्रचण्ड मंगलबार भने एउटा सानो कार्यक्रममा सहभागि भए । प्रचण्डको निजी सचिवालयका अनुसार पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उनले पार्टीमा स्वागत गरेका हुन् ।

त्यसक्रममा उनले भने, ‘त्यसकारण अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चै अब समाजवादी क्रान्तिको विकास अब कसरी विकास गर्ने भन्नेमा छ ।’

प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा राष्ट्रिय सम्मेलनमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको जानकारी गराए।

प्रचडनिकट नेताहरुका अनुसार उनले ‘एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद’ को आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरूपको विश्लेषण गर्ने प्रतिवेदनमा गर्ने छन् । समाजवाद निर्माणका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी’ निर्माणतर्फ प्रचण्डले प्रतिवेदनमा जोड दिएका छन् ।

प्रचण्डले अहिले मधेसी जनता र वुद्धिजीविहरु माओवादीप्रतिको भ्रमबाट मुक्त हुँदै गएको समेत दावी गरे । ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ,’ प्रचण्डले भने, ‘त्यसैले हामी पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर