एसियामा अमेरिका सबैभन्दा शक्तिशाली, चीन दोस्रोमा : नेपाल ‘माइनर पावर’ – Nepal Press
एसिया पावर इन्डेक्स

एसियामा अमेरिका सबैभन्दा शक्तिशाली, चीन दोस्रोमा : नेपाल ‘माइनर पावर’

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर इन्डेक्समा ८२.२ अंकसहित अमेरिका शीर्षस्थानमा छ ।

चीन चाहिँ ७४.६ अंकसहित दोस्रो स्थानमा छ । जापान ३८.७ र भारत ३७.७ अंकसहित चौंथो स्थानमा छन् । भारतपछि रुस पाँचौं, अष्ट्रेलिया छैटौं र दक्षिण कोरिया सातौं शक्तिशाली मुलुक बनेका छन् ।

यसवर्ष एसियाली क्षेत्रमा अमेरिकी शक्ति र प्रभाव अझै वृद्धि भएको पाइन्छ । सन् २०१८ मा यस्तो अध्ययन गर्न थालिए यता पहिलोपटक चीनको शक्तिमा केही गिरावट आएको छ । पछिल्लो समय अमेरिका र चीनबीच हिन्द–प्रशान्त क्षेत्रलाई लिएर दुई मुलुकबीच टकराव छ ।

पछिल्लो समय एसिया दुई धुव्रीय बन्दै गएको उक्त अध्ययनको निष्कर्ष छ । ‘क्षेत्रीय बहुधुव्रीय व्यवस्था स्थापनामा भूमिका खेल्ने जापान र भारतले सन् २०२१ मा चीनले भन्दा कम योगदान दिएका छन्’ अध्ययनमा संलग्न हार्भे लेमायु र एलिसा लेङले भनेका छन् ।

प्रधानमन्त्री पदबाट सिन्जो आबेले राजीनामा दिएपछि जापानको शक्तिमा केही गिरावट आएको भनिएको छ । जापानले कूटनीतिक प्रभाव र आर्थिक सशक्तता गुमाएपनि अझै ११ वटा मुलुकसँग प्रतिरक्षा संवादलाई कायमै रहेकाले अझै क्षेत्रीय खेलाडी रहेको उक्त अध्ययनले जनाएको छ ।

सैन्य शक्तिमा वृद्धि भएसँगै भारतको उदय भएपनि अझै अघि जान एक दशक लाग्ने र त्यसको दिगोपनको सुनिश्चितता नभएको पनि भनिएको छ । अमेरिकाले दुईवटा आधारमा चीनलाई उछिनेको छ । पहिलो- आर्थिक, सामारिक र जनसांख्यिक स्रोतहरुको वितरण र दोस्रो- कूटनीतिक प्रभाव ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कारण अमेरिकी कूटनीतिक प्रभावमा निकै कमी आएको अध्ययनमा बताइएको छ । लोवी रिपोर्टले एसिया क्षेत्रका केही क्षेत्रीय खेलाडीको शक्तिमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा असर पर्दा गिरावट आएको उल्लेख गरेको छ ।

इन्डोनेसिया एसियाकै शक्तिशाली मुलुकको सूचीको नवौं स्थानमा उक्लिएको छ । ११ औं स्थानबाट यसवर्ष नवौं स्थानमा यो मुलुक उक्लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर