बैतडी जीप दुर्घटना अपडेट- मृतकको संख्या पाँच पुग्यो – Nepal Press

बैतडी जीप दुर्घटना अपडेट- मृतकको संख्या पाँच पुग्यो

बैतडी । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका(१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

पाटन बजारबाट पाटन नगरपालिका-७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सूर्नया गाउँपालिका-४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह भएको थियाे । उनीहरू घरबाट माइतीघर पाटन-७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रेफर गरिएको छ । पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

जीप चालक बैतडीको पाटन नगरपालिका-५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जीप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *