उपत्यकाभित्र प्रदेश प्रहरीको कमाण्ड संघीय प्रहरीले नै सम्हाल्ने


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रहरी प्रहरीले गर्ने सबै काम, कर्तव्य र अधिकारको प्रयोग संघीय प्रहरीले नै गर्ने भएको छ ।
यहि हप्ता सरकारले जारी गरेको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्व्य) ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८’ मार्फत यस्तो व्यवस्था गरिएको हो ।
मूल ऐनमा दफा १० ‘क’ थप गरेर ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए पनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीका काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसूरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्ने व्यवस्था गरिएको छ ।
त्यसका लागि नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तरगतका प्रहरी कार्यालय रहने छ’ भनिएको छ ।
यस्तै २०७८ साल वैशाख २१ गते जारी भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ बमोजिम भए गरेका काम कारबाही पनि यसै अध्यादेश बमोजिम भए गरेको मानिने पनि अध्यादेशमा उल्लेख गरिएको छ ।
उक्त ऐनलाई तत्काल संशोधन गर्नुपर्ने देखिएकाले र अहिले संघीय संसदको अधिवेशन पनि नभएकाले अध्यादेशमार्फत यस्तो व्यवस्था गरिएको गत बुधबार राजपत्रमा प्रकाशित अध्यादेशमा उल्लेख गरिएको छ ।