विवाह पञ्चमी : सहभागीले मास्क लगाउनैपर्ने, सुरक्षार्थ झण्डै ३ हजार सुरक्षाकर्मी खट्ने – Nepal Press

विवाह पञ्चमी : सहभागीले मास्क लगाउनैपर्ने, सुरक्षार्थ झण्डै ३ हजार सुरक्षाकर्मी खट्ने

जनकपुरधाम । सीता–राम विवाह पञ्चमीमा सहभागी श्रद्धालुको सुरक्षार्थ झण्डै ३ हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

यसवर्ष विवाह पञ्चमी मंसीर २२ गते परेको छ । नेपाल र भारतबाट लाखौं श्रद्धालु विवाह पञ्चमीमा सहभागी हुने गरेकाले सुरक्षा मुख्य चुनौती बन्छ ।

हरेक वर्ष ठूलो संख्यामा लुटपाटका घटना बढ्दै गएपछि यसवर्षसुरक्षार्थ करिब २७ सय सुरक्षाकर्मी खट्दैछन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विवाह पञ्चमीका लागि बाहिर जिल्लाबाट १५ सय सुरक्षाकर्मी ल्याउन लागेको बताए ।

उनका अनुसार धनुषामै रहेका करिब १२ सय सुरक्षकर्मी पनि परिचालित हुनेछन् । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने उनको भनाई छ ।

भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न लागेका बेला पनि भारतीय श्रद्धालुले विवाह पञ्चमीमा सहभागी हुन पाउने भएका छन् ।

विवाह पञ्चमीमा सहभागी हुन मास्क मात्र अनिवार्य गरेको र भारतीय श्रद्धालु पनि मास्क प्रयोग गरेर आउन पाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

उनले भने, ‘सरकारले अहिलेसम्म सिमा नाका बन्द गर्ने निर्णय गरेको छैन । त्यसैले भारतीय श्रद्धालु पनि विवाह पञ्चमीमा आउन पाउँछन् तर मास्क लगाएर । मास्क नहुने श्रद्धालुलाई नाकामै सुरक्षाकर्मीले मास्क उपलब्ध गराउँछन् ।’

विवाह पञ्चमीमा सहभागी हुने सबैलाई मास्क अनिवार्य गरिएको छ । प्रमुख जिल्ला अधिकारी बास्तोलाले करिब ३ देखि ४ लाख मास्क निःशुल्क वितरण गर्ने योजना रहेको सुनाए ।

नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटी लगायतका सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने उनको भनाई छ ।

विवाह पञ्चमीमा हुने भीडभाडको समयमा महँगो गरगहना लगाई वा जोखिमयुक्त सरसमान लिई नजान पनि जिल्ला प्रशासन कार्यालय धनुषाले अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *