एमालेलाई नजिस्क्याउन चेतावनी दिँदै योगेशले भने- हाम्रा ब्याट्सम्यान मैदानमा आइसके, आउटपुट चुनावमा आउँछ – Nepal Press

एमालेलाई नजिस्क्याउन चेतावनी दिँदै योगेशले भने- हाम्रा ब्याट्सम्यान मैदानमा आइसके, आउटपुट चुनावमा आउँछ

चितवन । एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए ।

एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले एमाले र गैडामा समानता रहेको तर्क सुनाए । ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो,’ उनले भने, ‘गैँडा यति सज्जन हुन्छ कि उ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ,’

उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’

एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी भट्टराईले दिए । उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबी गरे । ‘शक्ति आर्जन गरेर चितवनबाट फर्केको छ । अब त्यसको आउटपुट चुनावमा आउँछ , एमालेको बहुमतनै हो । एक–दुई रन लिने सुविधा छैन, चौका, छक्कानै हान्नुपर्छ । हाम्रा व्याट्सम्यानहरु मैदानमा छन्, अब चौका छक्का हान्ने हो,’ क्रिकेट खेलको उदाहरण दिँदै उनले थपे, ‘एकदिवसीय वा लामो सिरिजको खेल होइन, यो ट्वान्टी ट्वान्टी हो, छिटो हानिन्छ, छिटो जितिन्छ । त्यसैले दर्शकलाई त्यो मजा दिन्छ । अब एमालेले आफ्ना ब्याट्सम्यानहरु निकालिसक्यो, सेकेण्ड इनिङकोअब सुरु भैसक्यो ।’

उनले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताए । एमालेको महाधिवेशनको उद्घाटनसत्रमा ७ लाख बढी जनता सहभागी भएको दाबी गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रर्दशन नगर्ने निर्णय गर्न बाध्य भए ।’

उनले ५ दलीय गठबन्धनले देशमा वेथितिहरु ल्याएकाले छिटै निर्वाचनमा गएर नयाँ जनादेशसहितको सरकार बनाउनुपर्नेमा जोड दिए । ‘गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेका छन्, संविधान कता छ खोज्नुपर्ने बेला भएको छ । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त छ, वेथितिहरु छन्,’ उनले भने, ‘समाचार सुन्दै थिएँ, सार्वजनिक खरिद ऐन संसोधन हुँदैछ, त्यो भनेको गठबन्धनमा आवद्ध भएकालाई राज्यको सम्पत्ति दुरुपयोग गर्न दिने, लूट मच्चाउने प्रपन्च हो ।’

उनले गठबन्धनकै कारण संसद पंगु बनेको आरोप लगाउँदै थपे, ‘हामीले उठाएका जायज मुद्दाहरु संसदमा ठीक ढंगले सम्वोधन गर्न सक्ने ल्याकत गठबन्धनले राखेको छैन । संसदलाई पंगु बनाउने काम भएको छ । न्यायालय ध्वस्त छ, सार्वजनिक छविमा यति छिटो धब्बा लागेको छ ।’

उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर वेथिति भित्र्याएको जिकिर गरे । उनले विगतमा ६४ सदस्यीय मन्त्रीमण्डल बनाएका शेरबहादुरले फेरी पुरानै प्रवृत्ति ल्याउन खोजेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर