ऐरावतीका अध्यक्ष शाहको दाबीः प्रतिवद्धता गरेका ९५ प्रतिशत काम पूरा भए – Nepal Press

ऐरावतीका अध्यक्ष शाहको दाबीः प्रतिवद्धता गरेका ९५ प्रतिशत काम पूरा भए

नयाँ संरचनाअनुसार स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि प्युठानको ऐरावती गाउँपालिकाले विकास र समृद्विका धेरै योजना अगाडि सारेको थियो । आफ्नो कार्यकालको अन्तिम बजेट ल्याइसकेको अहिलेको नेतृत्वले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ ।

आफूले निर्वाचनका बेला गरेका ९५ प्रतिशत प्रतिवद्धता पूरा गरेको दाबी गाउँपालिकाको आन्तरिक अवस्था कस्तो छ भनेर नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष नविलविक्रम शाहसँग चुनावी प्रतिबद्वता, कार्यान्वयन अनि पाँचवर्षे कार्यकालको समीक्षाका विषयमा नेपाल प्रेसका लागि रामप्रसाद आचार्यले गरेको कुराकानी–

स्थानीय सरकारको नेतृत्वमा रहेर काम गर्दाको अनुभव बताइदिनुस् न !

पाँचवर्षे कार्यकालको अन्तिम वर्ष हो, अहिले । जनताको इच्छा र चाहना बढी नै छ । त्यसको तुलनामा हामीसंग स्रोतसाधन धेरै कम छ । त्यसका बाबजुत पनि हामीले धेरै उपलब्धी हासिल गरेका छौं ।

संघीयता कार्यान्वयनको सुरुवाती चरणका काम गर्नुपर्ने भएकाले सीमित बजेट, कर्मचारीको अभाव समस्याकै रूपमा देखा पर्यो । नेतृत्व गर्ने कुरा हो, काम गर्दा अप्ठेरा स्थितिहरु त आउँछन् नै । खर्च भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखापरेको छ ।

यो अवधिमा थुप्रै अनुभवहरु लिन सकियो । पर्याप्त स्रोतसाधन हुँदा विकास निर्माणका काम प्रशस्त गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।

गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र सीप अभाव हाम्रा लागि चुनौती हुन् । अर्कोतर्फ केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । सबै चुनौतीहरुलाई चिरेर हामी जनअपेक्षाअनुसार विकासमा गति दिन खोजिरहेको थियौं र छौँ ।

यो कार्यकालमा उल्लेखनीय के काम गर्न सकियो भन्ने लाग्छ ?

हाम्रो कार्यकाल अहिलेको संरचनाको शुरुवाती चरण पर्यो । यहाँ जनप्रतिनिधि भएर आउँदा पूर्वाधारको अवस्था निकै कमजोर थिए । भएका पूर्वाधार पनि जीर्ण थिए । हामी निर्वाचित भएपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढियो ।

अहिले हरेक वडामा आउजाउ गर्न सहज भएको छ । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । आयआर्जनमा पनि केही प्रयास गरिएका छन् । जसबाट जनताले प्रत्यक्ष सुविधा महशुस गरेका छन् ।

पालिकाका छमध्ये चार वटा वडा कार्यालय बनाइसकेका छौं । अन्य दुई वटा वडाको निर्माण प्रक्रियामै छन् । गुणस्तरीय शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । खेलमैदानको काम अघि बढेको छ । स्वास्थ्य चौकीका साथै गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक संचालन गरिरहेका छौं ।

त्यस्तै, पालिकाभित्रका ५२ वटै सामुदायिक वनमा रिचार्ज पोखरी बनाएका छौं । हामीले ठूलो योजनाका रुपमा अघि सारेको बिजुली र दाङबाङ लिफ्ट खानेपानी योजना सम्पन्न हुने अवस्थामा छ । यसैवर्ष झण्डै ७० प्रतिशत घरधुरीमा खानेपानी सुबिधा पुर्याउँदै छौँ । त्यस्तै कृषिमा आधुनिकीकरण गर्ने कार्य सुरु भएको छ । थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा छन् । गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियान अहिले पनि छ ।

नागरिकका अपेक्षा कति पूरा भए भन्ने लाग्छ ?

स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमै हाम्रो ध्यान केन्द्रीत भयो । हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ भन्ने मेरो मान्यतामा काम गरियो ।

सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । गाउँबस्तीका अभाव, जनताको अफ्ठ्यारो, समस्या र आवाश्यता पहिल्याउँदै समाधान गर्ने प्रयासलाई निरन्तर अगाडि बढायौं । वडास्तरबाट माग भइ आएका योजनाहरुलाई समेटेर कार्यक्रम बनाएर अगाढि बढ्यौं र योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा समुदायको निर्णायक सहभागिता छ ।

आवश्यताका आधारमा प्राथमिकताका साथ पालिकाले सम्बोधन गर्दै आएको छ । ती योजनाको प्रभावकारी कार्यान्वयन हुने गरेका छन् । जनताको माग पूरा गर्दै गाउँपालिकाको समग्र विकास र समृद्धिमा जुटेका छौँ तर नागरिकका अपेक्षा धेरै स्रोतसाधन अभावमा चाहेजति गर्न नसकेको यथार्थ हो ।

निर्वाचनका बेला गरिएका प्रतिबद्वता के कति पूरा गर्नुभयो ? समीक्षा गर्ने बेला भयो नि !

अब कार्यकालको अन्तिम समय आउन थालिसक्यो । चुनावका बेला जनतासामू गरिएका वाचाहरू कति पूरा भए, कति हुन बाँकी छन् समीक्षा हामीले त गरिरहेका छौं । आमनागरिक र मिडियाले पनि गरिदिनुपर्दछ ।

निर्वाचनताका सडक पूर्वाधारबाट विकास सुरु गर्ने भनेको योजना पूरा भयो । म आबद्ध पार्टीले विभिन्न प्रतिबद्वतासहित घोषणापत्र जारी गरेको थियो, त्यो अहिले सबैले खोज्नुपर्ने बेला आएको छ । चुनावी भेटघाटका क्रममा पनि पाँच वर्षमा समृद्ध ऐरावती निर्माण गर्छौं भनेर भोट मागेको थियौं । अहिले तीनै प्रतिबद्वताको आधारमा काम गर्दैछौँ । हामीले बाचा गरेअनुसार ४ वर्षमा ९५ प्रतिशत कामहरु पूरा भएका छन् । बाँकी अवधिमा बाँकी प्रतिवद्धता पूरा गर्ने प्रतिवद्धता गर्न चाहन्छु ।

अन्तिम कार्यकालको बजेटका प्राथमिकता र योजना के के छन् ?

अहिले ल्याएको मेरो कार्यकालको बजेट अन्तिम र चुनावी बजेट हो । ५४ करोडको बजेटमा मैले चाहेजसरी योजना बनाउन सकिनँ । कोरोना महामारीले केही सोचेका योजनामा पनि बजेट राख्न सकिएन ।

बजेट विनियोजन गर्दा सेवा प्रवाह र सुशासन, सामाजिक विकास, पूर्वाधार विकास, कोरोना भाइरस रोकथाम, आर्थिक विकास, वन तथा वातावरणलाई क्रमशः प्राथमिकता दिने नीति अख्तियारी गरेका छौं । कोरोना कहरले पुर्याएको असरलाई लक्षित गरी कृषि उत्पादन वृद्धि, बेरोजगार युवालाई घरगाउँमा स्वरोजगार बनाउने तथा स्वास्थ्य, शिक्षा, पर्यटन, उद्यमशीलतालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ ।

यहाँ रहेका पूर्वाधारहरुको स्तरीकरण गर्ने, अधुरा कार्य पूरा गर्ने, अहिलेसम्म सुरु गरेका कामलाई संस्थागत गराउने गरी नै बजेटलाई केन्द्रीत गरेका छौं । सकेसम्म हामीले शुरु गरेका योजनालाई स्थायित्व दिनेगरी बजेट बनाएका छौं ।

कोरोना संक्रमणको प्रभाव कस्तो रह्यो र संक्रमण रोक्ने आगामी रणनीति के बनेका छन् ?

अहिले त संक्रमण दर धेरै कम भएको छ । शुरुवाती चरण र दोस्रो चरणमा निकै प्रभावित बनायो । पालिकाको आफ्नो स्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रणको प्रयास गरिएको छ । खासगरी गाउँबस्तीमा कोरोनाबारे प्रशस्तै सचेतनामूलक गतिविधिहरु गर्यौं । त्यसले धेरै मानिसहरु संक्रमित हुनबाट जोगिए ।

नयाँ ठाउँबाट आउनेहरुलाई निगरानी गर्ने, उनीहरुलाई घरमै सुरक्षित व्यवस्थापन गर्ने काम गर्यौं । त्यस्तै अक्सिजनको सुविधासहित पाँच शैय्याको अस्पताल संचालनमा ल्याएका छौँ ।

समुदायस्तरमै पुगेर निःशुल्करुपमा कोरोना जाँच गर्ने काम गरिरहेका छौं । रोकथाम र उपचार दुवै हिसाबले राम्रो भएको छ भन्ने लाग्छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं । सबैको सहयोगमा यसअघिका संक्रमणलाई रोक्न सकियो आगामी दिनमा पनि त्यो समन्वयलाई निरन्तरता दिनेछु ।

प्रदेश र संघीय सरकारको सहयोग कस्तो पाउनुभयो ?

स्थानीय क्षेत्रको विकासमा स्थानीय स्रोत नै भए धेरै राम्रो हुने हो तर हामीकहाँ त्यो संभव हुने कुरा भएन । दलीय संरचनामा बनेका प्रदेश र संघीय सरकारले आफूअनुकुलका निर्णय कार्यान्वय गराउन खोज्दा केही समस्या हुने रहेछ तर पालिकाको विकासका लागि सकेसम्म सबैलाई समन्वय गर्ने प्रयास गरियो ।

बाँकी अवधिमा के कसरी काम गर्ने योजना बनाउनुभएको छ ?

अब कार्यकाल अन्तिम समयमा आइपुगेको छ । बाँकी अवधिमा सुन्दर र समृद्ध गाउँपालिकाका बनाउने योजना पूरा बाँकी योजना पूरा गर्न समय दिनुछु । त्यो समयसम्म पालिकाका सबै वडामा सडक व्यवस्थित बनिसक्छन् ।

शिक्षा र स्वास्थ्यमा अहिलेको भन्दा गुणात्मक हिसाबले सुधार भएको हुनेछ । कृषि, पर्यटन, विद्युत् विकासले फड्को मार्नेछ । हरेक बस्तीमा खानेपानी सुविधा सुनिश्चतता भएको अवस्था हुने छ ।

पर्यटकलाई भित्र्याउने संरचना तयार हुनेछन् । प्रत्येक वडा र पालिकास्तरमा खेलमैदान बनिसक्नेछन् । सबैले उदाहरण लिनेगरी पालिकालाई पुर्याउने प्रयासमा लाग्नेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *