कांग्रेस प्रदेश-२ अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय – Nepal Press

कांग्रेस प्रदेश-२ अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय

जनकपुरधाम । आन्तरिक विवादका कारण सर्लाही, बारा, सप्तरी र महोत्तरीका केहि क्षेत्रबाट मतदाता नामावली नआएकाले नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरिएको छ ।

आइतवार जनकपुरमा बसेको पार्टीका केन्द्रीय, जिल्ला, क्षेत्रिय नेताहरु र प्रदेश मन्त्रीहरुको बैठकले प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेको प्रदेश निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए ।

‘केन्द्रबाट प्रदेश महाधिवेशन स्थगित गर्ने निर्देशन आएको छैन,’ उनले भने, ‘त्यसैले स्थगित भयो भन्न मिल्दैन । पार्टीका नेताहरुको बैठकले मात्र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेका छन् ।’

उनले थपे, ‘केहि जिल्लाबाट मतदाता सूची नै आएको छैन । दुई दिनभित्र आए प्रदेश अधिवेशन गराउन सकिन्थ्यो । तर विवाह पञ्चमीमा सबै व्यस्त रहने भएकाले त्यो पनि सम्भव देखिएन । र २४ गते महाधिवेशन नै सुरु हुन्छ । त्यसैले अब महाधिवेशन अघि प्रदेश अधिवेशन गराउन सम्भव छैन ।’

शुक्रवार नै जनकपुरमा प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको थियो । तर प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनमा चरम विवाद देखिएकाले प्रदेश अधिवेशन स्थगित गर्नुपरेको प्रदेश २ का सांसद नरेश यादवले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र ४, रौतहटको निर्वाचन क्षेत्र ४ र महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशनमा विवाद देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर