भरत शाह हारेपछि बालकृष्ण खाणमाथि कार्यकर्ताको सन्देह – Nepal Press

भरत शाह हारेपछि बालकृष्ण खाणमाथि कार्यकर्ताको सन्देह

रुपन्देही । जनताबाट पटक–पटक निर्वाचित भएका रुपन्देहीका भरतकुमार शाह पार्टीको निर्वाचनमा भने सधैं हारिरहेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पराजित भएका उनी यसपल्ट पनि केन्द्रीय सदस्यमै उम्मेदवारी दिने तयारीमा थिए तर प्रदेशमा शक्तिशाली मानिने सभापतिमा लड्न कांग्रेस नेता बालकृष्ण खाँण र नेता देवेन्द्रराज कँडेलले उनलाई अगाडि सारे ।

पार्टीको वडा तथा पालिका अधिवेशनमा नेता खाँणसँग असहमति जनाउँदै उनले अलग्गै समूह बनाएर अगाडि बढेका थिए । जिल्लामा आफ्नो अलग्गै समूह बनाएर शक्तिशाली बन्न खोजेका शाहलाई नेता बालकृष्ण खाँणले जिल्ला अधिवेशनमा भने उनकी श्रीमती अनिता शाहलाई उपसभापतिमा निर्विरोध चयन गराएर आफ्ना भाइ रामकृष्ण खाँणलाई सभापति बनाउन सफल रहे ।

सबै ठाउँमा अलग–अलग समूहमा वडास्तरमा चुनाव भइरहेको समयमा रुपन्देहीको जिल्ला नेतृत्वमा भएको सर्वसम्मतिले नयाँ सन्देश दिन खोजे पनि प्रदेशमा भएको पराजयले उनीहरुको योजना असफल भएको छ ।

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको लेखा समितिका सभापतिसमेत रहेका शाह जिल्लामा लोकप्रिय छन् । २०५६, २०७० र २०७४ सालको निर्वाचनमा विजयी शाह अर्थराज्यमन्त्री भइसकेका नेता हुन् ।

२०५६ सालमा सालमा उनले अजिव मुसलवानलाई पराजित गरेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामनाथ ढकाललाई पराजित गरेका थिए । २०७४ सालको आमनिर्वाचनमा माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी रामनाथ ढकालसँग थोरै मतले पराजित भएका थिए ।

२०२७ सालमा विद्यार्थी हुँदैदेखि राजनीतिक यात्रा सुरु गरेका शाहले ४० वर्षदेखि पार्टी जिम्मेवारमा रहेर काम गरेकाले प्रदेश सभापतिमा सजिलै जित्ने अनुमान धेरैको थियो ।

आमनिर्वाचनको चतुर खेलाडी मानिएका शाह लामो समय पार्टीको विभिन्न कमिटीमा रहेर काम गरे पनि आन्तरिक चुनावमा किन जित्न सक्दैनन् भन्ने विषय नै आश्चर्यजनक रहेको कांग्रेस नेताहरुको बुझाई छ ।

पार्टीको संस्थापन समूहका बलियो नेता मानिएका उनलाई अगाडि बढ्न रुपन्देहीबाटै सोही समूहका प्रभावशाली नेता बालकृष्ण खाँणको भित्री सहयोग छैन ।

‘एउटै जंगलमा दुई वटा सिंह रहन नसक्ने भएकाले नै यस्तो भएको हो, पार्टीभित्र शाह बलियो भए खाँण कसरी बलियो हुनसक्छन् ?,’ स्थानीय एक कांग्रेस नेताले भने ।

त्यसो त नेता बालकृष्ण खाँणले रुपन्देहीबाट शाहलगायतका नेताहरु कमजोर भए अहिले सभापति बनेका भाइ रामकृष्ण सजिलै अगाडि बढ्न सक्ने आंकलन गरेको हुनसक्ने ती नेताको बुझाई छ । सोही कारणले पनि रुपन्देहीबाट सिंगो प्यानल आृउँदा इतर समूहको उपसभापतिमा नेता अष्टभुजा पाठक पारजित बने ।

लुम्बिनीमा संस्थापन इतर समूह बलियो भए पनि रुपन्देही, दाङ, बाँके र नवलपरासीमा देउवा समूहको पकड राम्रो मानिएको थियो । नवलपरासीमा नेता देवेन्द्रराज कँडेल र रुपन्देहीमा भरत शाह र खाँणकै कारण सो समूह कमजोर बनेको पौडेल समूहका नेताको विश्लेषण छ ।

लुम्बिनीमा कांग्रेस नेता स्व. खुमबहादुर खड्कालाई मान्दै आएको एउटा समूह संस्थापनसँग सन्तुष्ट छैन । मत कम आउनुमा त्यसले पनि भूमिका खेलेको हुनसक्छ ।

शाहको पराजयले लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमाल, डिल्ली चौधरीसहितका नेताहरुलाई पार्टीभित्र थप कमजोर बनाउने छ । संस्थापन समूहबाट सम्भावित महामन्त्रीको उम्मेदवार खाँणलाई पनि आफ्नै प्रदेशमा पराजित हुनु प्रत्युत्पादक बन्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर