पहिलो खेल जितेपछि युनाइटेडका अन्तरिम प्रशिक्षकले भने- टिमको प्रदर्शन सोचेभन्दा राम्रो


एजेन्सी । क्रिष्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेपछि म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले टिमको प्रदर्शन आफूले सोचेभन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
ओले गनर सोल्सायरलाई बर्खस्त गरेपछि अन्तरिम प्रशिक्षकका रुपमा पहिलो खेलमा राल्फले विजयी सुरुआत गरे । ब्राजिलियन मिडफिल्डर फ्रेडले करिव २० यार्डबाट निर्णायक गोल गरेपछि युनाइटेडले ओल्ड ट्राफोटमा जित हासिल गरेको थियो ।
‘टिमको प्रदर्शनबाट म पूर्ण खुसी छु । विशेष गरी पहिलो हाफको आधा घण्टा हामीले खेल नियन्त्रणमा राख्न सक्यौं,’ राल्फले बीबीसीसँग भनेका छन्, ‘हामीले अझै ठूलो अन्तरले जित्नुपर्ने थियो । क्लिन सिट राख्न सक्नु पनि महत्वपूर्ण हो । प्रशिक्षण सत्र र प्रतिस्पर्धात्मक मैदानमा टिमको प्रदर्शन मैले सोचेभन्दा राम्रो थियो ।’
क्रिष्टल प्यालेस लगातार तेस्रो सिजन ओल्ड ट्राफोटमा जितको खोजी गरिरहेको थियो ।