ए डिभिजन लिग : तेस्रो खेलमा आर्मीको पहिलो जित – Nepal Press

ए डिभिजन लिग : तेस्रो खेलमा आर्मीको पहिलो जित

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

लिगको साविक उपविजेता आर्मी पहिलो खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै, दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

सदाबहार उपाधि दाबेदार मानिने आर्मी आइतबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध सिजनको पहिलो जित निकाल्ने लक्ष्यसहित दशरथ रंगशालामा उत्रिएको थियो ।

यद्यपि, गोलका क्लियर मौका सृजना गर्न असफल देखिएको आर्मीले पाएका ‘हाफ चान्स’ पनि ८४औं मिनेटसम्म कन्भर्ट गर्न सकेको थिएन । फिनिसिङमा निरिह आर्मीका लागि ८५औं मिनेटमा कप्तान भरतले एक मात्र गोल गर्दै सिजनको पहिलो जित दिलाए ।

मिडफिल्डर सन्तोष तामाङले मैदानको करिब बीच भागबाट पेनाल्टी एरिया भित्र दिएको ‘डेलिभरी’लाई नियन्त्रणमा लिँदै भरतले ‘फार कर्नर’मा सुन्दर फिनिस गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

खेलको सुरुआतदेखि नै गोलका लागि निरन्तर प्रयासरत आर्मीका खेलाडी र टच लाइनका अफिसियलको ‘सेलेब्रेसन’ले पनि आर्मीका लागि त्यो गोलको महत्त्व दर्शाउँथ्यो ।

विभागीय महारथी आर्मीको दबाब सहँदै प्रहारलाई हरसम्भव विफल बनाउने प्रयत्न गरेको बीबीसीले अन्तिम समयको ५ मिनेट सम्हालिन नसक्दा एक अंक गुमाउन बाध्य बन्यो ।

जितसँगै सुरुआती तीन खेलबाट ५ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको बीबीसी सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर