राष्ट्रिय बाघ सर्वेक्षण सुरु, क्यामेराको स्वीच थिचेर मन्त्रीद्वारा उद्घाटन


चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय बाघ सर्वेक्षण सुरु भएको छ । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यावदले बाघ ट्रयापिङ गरिने क्यामेराको स्वीच थिचेर सर्वेक्षणको उद्घाटन गरेका हुन् ।
मन्त्री यादवले सन् २०१० मा रसियामा आयोजित अन्तरराष्ट्रिय बाघ सम्मेलनमा बाघको दोब्बर संख्या पुर्याउने भनि गरिएको प्रतिवद्धता सन् २०२२ मा पुरा हुने विश्वास व्यक्त गरे ।
‘त्यो लक्ष्य हामीले हासिल गर्दैछौँ’, उनले भने, ‘सन् २०२२ को पहिलो महिनामै सर्वेक्षणको नतिजा सार्वजनिक हुनेछ ।’ मन्त्री यादवले ३ महिनाको स्थलगत अध्ययन र थप एक महिनाको विश्लेष्णपछि बाघको अद्यावधिक तथ्यांक प्राप्त हुने बताए ।
विगत १ सय वर्षमा बाघको करिब ९० प्रतिशत बासस्थान मासिएको उल्लेख गर्दै उनले बाघ संरक्षणलाई सरकाले विशेष प्राथमिकता दिएको बताए । मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि समेत तयार भएर स्वीकृतिको क्रममा रहेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले ऐन कानुन कार्यान्वयन गर्न नसक्दा वन्यजन्तु संरक्षणमा चुनौति सृजना भएको बताए ।
बाघ संरक्षणहुँदा सारा पारिस्थितिक प्रणाली समेत संरक्षण हुनको भनाई छ ।
नेपालका ५ वटा राष्ट्रिय निकुञ्जमा बाघ पाइने भएपनि बाघ सर्वेक्षण ८ ब्लक बनाएर गरिदैछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा ब्लकमा पहिलो चरणमा सर्वेक्षण सुरु भएको हो ।
यस्तै दोस्रो चरणमा बाँके–बदिर्या राष्ट्रिय निकुञ्जको ४ वटा ब्लक, र शुक्लाफाटा–लालझाडी क्षेत्रमा १ ब्लक बनाएर सर्वेक्षण गरिदैछ । विभागका सूचना अधिकारी बेदकुमार ढकालले सर्वेक्षणमा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्म लगायतका सामाग्री प्रयोग हुने बताए ।
हरेक ब्लकमा २ किमि लामो तथा २ किमि चौडाईमा ग्रीड बनाएर हरेक ग्रीडमा जोडी क्यामेरामा बाघको हिडडुललाई फोटो खिचेर राखिनेछ । मंसिर २९ गतेबाट बर्दीया र बाँकेलाई समेटेर सर्भेक्षण गरिने बताए । त्यसको दुई सातापछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्भेक्षण हुनेछ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले करिब ३ सय ६० जोडी क्यामेरा राखेर बाघको गणना हुने बताए । उनका अनुसार १६ वटा क्याम्पहरु बनाएर प्राविधिकहरु परिचालन हुनेछन् । क्यामेराको वरिपरी आएपछि स्वचालित क्यामेराको सेन्सरले फोटो खिचेर राख्नेछ । पछि ती सबै फोटाहरुको विश्लेषण गरि बाघको तथ्यांक निकालिनेछ ।
देशभरी बाघ सर्वेक्षण पुरा गर्न ३ करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । बाघ सर्वेक्षणमा खटिने हरेक प्राविधिकको १० लाख बराबरको विमा गरिएको छ । उनीहरुको सुरक्षाका लागि निकुञ्जकाे सेना सँगै रहनेछ । चितवनमा मात्रै १ सय २० जना प्राबिधिक र सहयोगी सहित हात्तीहरु परिचालन गरिने बताए उनले ।
सर्वेक्षण सकिएपछि जुलाई २९ मा पर्ने विश्व वाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने छ । नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटा सम्म बयस्क बाघ रहेको अनुमान गरिएको थियो ।
सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २ सय ३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तराष्ट्रिय बाघ सममेलनमा नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर पुर्याउने प्रतिवद्धता गरेको थियो । जस अनुसार सन् २०२२ मा नेपालमा २ सय ५० वटा बाघ संख्या पुग्नुपर्ने हुन्छ ।
सन २०१८ चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या बढेको अनुमान गरिएको छ ।