२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन् – Nepal Press

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

बारा जिल्लाकी २३ वर्षकी सुष्मा मिश्र राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । उनी राप्रपाकी कान्छी केन्द्रीय सदस्य बनेकी छन् । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १२८७ भोट ल्याउँदै केन्द्रीय सदस्य चुनिएकी हुन् ।

सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको बारा क्षेत्र नम्बर ३ कि क्षेत्रीय उपाध्यक्षसमेत हुन् । आगमी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने उनको योजना छ ।

जितपछि प्रतिक्रिया दिँदै सुश्माले आफ्नो व्यक्तिगत राजनीतिमा यसले ठूलो अर्थ राखने बताइन् ।

उनले भनिन्, ‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार-जितलाई सामान्यरुपमा लिनुपर्छ ।’

राप्रपाले बोकेको राजसंस्था र हिन्दू राज्यको ऐजेन्डा मन गरेर राजनीति गर्न यो पार्टी रोजेको सुश्माले बताइन् । उनले कक्षा १० पढ्दै गर्दा राजनीति सुरु गरेकी थिइन् । हाल बीएएलएलबी चौथो वर्षमा अध्ययरत उनी पढाइ र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेकी छन् ।

महाधिवेशनमा सुष्माले अध्यक्ष पदमा कमल थापालाई समर्थन गरेकी थिइन् । थापा पराजित भए पनि आफूलाई पार्टी नेतृत्वमा प्रतिकुलता नहुने उनले विश्वास लिएकी छन् ।

‘हाम्रो प्यानलका धेरैजना विजयी हुनुभएको छ, त्यसैले म आत्तिएकी छैन,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर