प्रधान्यायाधीशलाई महाअभियोग लगाउन ‘होमवर्क’ भइरहेको सत्ता गठबन्धनका सांसदको खुलासा (भिडिओ) – Nepal Press

प्रधान्यायाधीशलाई महाअभियोग लगाउन ‘होमवर्क’ भइरहेको सत्ता गठबन्धनका सांसदको खुलासा (भिडिओ)

'महाअभियोगकै लागि मंसिर २८ को संसद आव्हान'

काठमाडौं । सत्तारुढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले अब बस्ने संसद बैठकले सो विषय प्रवेश पाउने बताएका हुन् ।

सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको दाबी गरे । उनले भने, ‘उहाँका विरुद्धमा महाअभियोग लाग्न सक्छ, लाग्नुपर्छ । अरु कुराबाट भन्दा पनि उहाँ महाअभियोगबाटै जानु बेस । राजीनामा किन माग्ने ? संविधानतः पनि उहाँलाई महाअभियोग लगाएर बिदा गर्नुपर्छ । र अदालतमा कोही पनि कानूनभन्दा माथि छैन भन्ने सिद्ध हामीले गर्नुपर्छ । संवैधानिक बाटोबाटै यो समस्याको समाधान गर्ने योजनालाई जारी राखौं । त्यो कुरामा हामी सबै लाग्नु पर्छ ।’

सत्तासाझेदार माओवादी केन्द्रका सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए । उनले प्रधानन्यायाधीशमाथि छानविन गर्न ११ सदस्यीय संसदीय छानविन समिति गठन हुने समेत जिकिर गरेका छन् ।

दलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको भन्दै बिडारीले भने, ‘संसदमा ११ जनाको छानविन समिति बन्छ । त्यसका निम्ति दलहरूले काम गरिरहेका छन् । दलहरूले आफ्नो काम गरिरहेका छन् । अबको एक हप्ता पछाडिबाट यो काम सुरू हुन्छ । र, यस्ता प्रधानन्यायाधीशलाई भविष्यमा राज्यको सबै सेवा प्राप्त नहुने गरी कालो लिष्टमा पर्नेगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पाउने गरी खत्तम पार्नका निम्ति प्रतिनिधिसभामा होमवर्क भइराखेको छ । काम हुन्छ ।’


प्रतिक्रिया

One thought on “प्रधान्यायाधीशलाई महाअभियोग लगाउन ‘होमवर्क’ भइरहेको सत्ता गठबन्धनका सांसदको खुलासा (भिडिओ)

  1. यी दुवैलाई सांसदबाट हटाउनु राम्राे । घिउ नपचेकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *