को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ? – Nepal Press

को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ?

साढे ४ हजारभन्दा बढी सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ । कांग्रेस विधान अनुसार नीति र नेतृत्व चयनका लागि महाधिवेशन कांग्रेसको सर्वोच्च निकाय हो । यसपटक महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने दबाबका कारण कांग्रेस महाधिवेशन नेतृत्वमा मात्रै केन्द्रित छ । नेतृत्वका लागि आधा दर्जन बढी नेताहरूले दाबेदारी प्रस्तुत गरेका छन् ।

जिल्ला र प्रदेश निर्वाचनमा प्यानल नै बनाएर प्रतिस्पर्धा भएकाले केन्द्रीय महाधिवेशनमा पनि प्यानल बन्ने निश्चित छ । कांग्रेस विधान अनुसार सभापति, उपसभापति, महामन्त्री, सह महामन्त्री र केन्द्रीय सदस्यहरूसहित १ सय ३४ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् । निर्वाचित सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नसक्ने व्यवस्था छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । सर्लाहीबाहेकका जिल्लाबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको छ ।

को हुन् महाधिवेशन प्रतिनिधि ?

कांग्रेस विधानको परिच्छेद ६ मा केन्द्रीय महाधिवेशन प्रतिनिधिबारे व्यवस्था छ । सो परिच्छेदमा ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुने’ उल्लेख छ । कांग्रेसमा विभिन्न ६ तरिकाबाट महाधिवेशन प्रतिनिधि छानिन्छन् । महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ४ वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य हुनैपर्ने मापदण्ड रहेको छ ।

दफा १६ मा महाधिवेशनका ९ वटा अधिकारहरू उल्लेख गरिएका छन् । जसमध्ये अधिकांश अधिकार केन्द्रीय सभापति, पदाधिकारी र सदस्य निर्वाचित गर्ने सम्बन्धी छन् । त्यसबाहेक महाधिवेशनले ‘अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने’ प्रावधान विधानमै उल्लेख छ । महाधिवेशनले आफ्नो अधिकार केन्द्रीय महासमिति, केन्द्रीय समिति वा केन्द्रीय सभापतिलाई समेत प्रत्यायोजन गर्न सक्नेछ ।

कसरी छानिन्छन् महाधिवेशन प्रतिनिधि ?

एक निर्वाचन क्षेत्र भएका जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिसहित २५ जना चयन हुन्छन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक संघीय निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । समावेशी क्लस्टर मिलाउने क्रममा भने २६ वा बढीमा २७ जनासम्म पनि प्रतिनिधि निर्वाचित हुने व्यवस्था कांग्रेसको निर्वाचन निर्देशिकाले गरेको छ । भूगोलबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिको संख्या कम्तीमा ४ हजार १ सय २५ रहेको छ ।

कांग्रेस विधानले नै निवर्तमान केन्द्रीय सभापति, उप-सभापति, महामन्त्री , कोषाध्यक्ष, सह-महामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि गरेको छ । जसअनुसार शेरबहादुर देउवा नेतृत्वको वर्तमान कांग्रेस केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू १४ औं महाधिवेशनमा स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

कांग्रेस विधानले केन्द्रीय सभापतिलाई महाधिवेश प्रतिनिधि मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेस विधानको दफा ५१ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय सभापतिले कांग्रेसका क्रियाशील सदस्यहरूमध्येबाट बढीमा ४० जना महाधिवेशन प्रतिनिधि चयन गर्नसक्ने व्यवस्था गरेको छ ।

कांग्रेस विधानले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूबाट पनि महाधिवेशन प्रतिनिधि छानिने व्यवस्था गरेको छ । जस अनुसार नेपाल महिला संघ, नेपाल तरुण दल , नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ र नेपाल मगर संघबाट अध्यक्षसहित ५-५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यस्तै नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरम , नेपाल ठाकुर समाज, नेपाल लोकतान्त्रिक शेर्पा संघ र नेपाल कुमाल संघबाट ३-३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

त्यस्तै नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्श एशोसिएसन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियबाट अध्यक्षसहित ५-५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यस्तै नेपाल शिक्षक संघबाट अध्यक्षसहित ७ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । नेपाल आदिवासी जनजाति संघ र नेपाल ट्रेड युनियन कांग्रेसबाट अध्यक्षसहित ११-११ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसरी कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संस्थाबाट कम्तीमा १ सय २२ जना महाधिवेशन प्रतिनिधि १४ औं महाधिवेशनमा सहभागि हुनेछन् ।

कांग्रेसमा विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छन् । कांग्रेस विधान अनुसार १ सय जनासम्म क्रियाशील सदस्य रहेको जनसम्पर्क समितिबाट अध्यक्षमात्रै महाधिवेशन प्रतिनिधि हुनेछन् । पाँच सय वा सो भन्दा बढी सदस्य भएकोबाट अध्यक्षसहित ७ जना र २ हजार वा सोभन्दा बढी सदस्य रहेको जनसम्पर्क समितिबाट अध्यक्षसहित १४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

मनोनीत महाधिवेशन प्रतिनिधि

कांग्रेस विधानले केन्द्रीय सभापतिलाई महाधिवेश प्रतिनिधि मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेस विधानको दफा ५१ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय सभापतिले कांग्रेसका क्रियाशील सदस्यहरूमध्येबाट बढीमा ४० जना महाधिवेशन प्रतिनिधि चयन गर्नसक्ने व्यवस्था गरेको छ । यसरी चयन हुने महाधिवेशन प्रतिनिधिको पदावधि अर्को महाधिवेशनको प्रक्रिया प्रारम्भ हुनासाथ स्वतः समाप्त हुनेछ । विधानको यस व्यवस्थाका कारण १४ औं महाधिवेशनमा वर्तमान सभापति देउवाले मनोनीत गर्ने महाधिवेशन प्रतिनिधिले मताधिकार प्राप्त गर्ने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर