बारका अग्रजको आग्रह- न्यायाधीश मिलाएर सत्ता दिलायौं, अब चोलेन्द्र हटाउन सघाउनुस् – Nepal Press

बारका अग्रजको आग्रह- न्यायाधीश मिलाएर सत्ता दिलायौं, अब चोलेन्द्र हटाउन सघाउनुस्

म अब डेमोक्र्याट भएँ: शम्भु थापा, परमादेश दिलाउन दुई न्यायाधीश हामीले मिलायौं: प्रेम खड्का

काठमाडौं । नेपाल बार एशोसियसनको प्रधानन्यायाधीश हटाउने आन्दोलनको मुख्य नेतृत्व गरिरहेका पूर्वअध्यक्ष शम्भु थापाले अब आफू वामपन्थी नरहेको भन्दै असार २८ को परमादेशको पैंचो तिर्न सत्ता गठबन्धनका शीर्ष नेतालाई आग्रह गरेका छन् ।

यसबीचमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइदिन आग्रह गर्दै बार पदाधिकारीसहित गठबन्धनका शीर्ष नेतालाई भेटेका छन् । यसक्रममा क्रममा पूर्वअध्यक्ष थापा र अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले असार २८ को परमादेश चोलेन्द्र शमसेरका कारण नभइ आफूहरूले दुईजना न्यायाधीश संवैधानिक इजलासबाट हटाएकाले मात्र सम्भव भएको स्मरणसमेत गराएका छन् ।

मंसिर १० गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा शम्भु थापाको अभिव्यक्ति सुनेपछि बारका पदाधिकारीसमेत ‘सरप्राइज’ मा परेका थिए । वामपन्थी पृष्ठभूमि बोकेका र एमाले समर्थित वकिलको नेताका रूपमा बार अध्यक्ष बनेका थापाले त्यस दिन ‘अब देखि म डेमोक्र्याट भएँ’ भनेपछि वकिलहरू अचम्मित भएका हुन् ।

पेशागत क्षेत्रमा डेमोक्र्याट भनेपछि कांग्रेस बुझिन्छ । पत्रकार, वकिल, डाक्टर, इन्जिनियरलगायत व्वसायिक क्षेत्रमा कांग्रेस समर्थकले डेमोक्र्याट र कम्युनिष्ट समर्थकले वाम वा प्रगतिशीलका नाममा आफूलाई चिनाउने गर्छन् ।

शम्भु थापा एमालेको स्थापित वकिलमात्र होइन २०६४ सालमा एमालेबाट उदयपुरमा संविधानसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । पछिल्लो समय उनी र टिकाराम भट्टराईसहितका एमालेनिकट वकिलहरू नेकपा विभाजनको बेला प्रचण्ड-माधव पक्षमा उभिएका थिए ।

सर्वोच्च अदालतमा संसद विघटनविरुद्धका मुद्दामा दुवैपटक आफू अनुकूलका न्यायाधीश संवैधानिक इजलासमा पार्नका लाथि थापासहितका वरिष्ठ अधिवक्ताहरूले निर्णायक भूमिका खेलेका थिए । देउवासँगको भेटमा पनि थापाले सो विषय स्मरण गराएको भेटमा सहभागी बारका एक पदाधिकारीले बताए ।

थापाको भनाइ उदृत गर्दै उनले भने, ‘पहिलो कुरा अब म डेमोक्र्याट भएँ । दोस्रो कुरा तपाईं आज जुन कुर्सीमा हुनुहुन्छ त्यो परमादेश चोलेन्द्र शमसेरका कारण आएको भन्ने भ्रममा हुनुहुन्छ भने मुक्त हुनुस् । हामीले दीपक कार्की र आनन्दमोहन भट्टराईमार्फत दुई न्यायाधीश संवैधानिक इजलासबाट नहटाएको भए तपाई आज प्रधानमन्त्री बन्नु हुने थिएन । चोलेन्द्र शमसेर तपाईंहरूका पक्षमा थिएनन्, उनलाई हटाउन तपाईंले भूमिका खेल्नुस् ।’

थापाले भनेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुन् । सुरूमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशलाई नेकपा विभाजन गर्ने फैसलामा सहभागी भएको भन्दै शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायतले उनीहरू इजलासमा बस्न नपाउने अडान लिएपछि न्यायाधीश दीपक कार्की र आनन्दमोहनले साथ दिएका थिए ।

कार्की र भट्टराईले आफूहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलासमा नबस्ने आदेश जारी गरेपछि हालको सत्ता गठबन्धनका कम्फरटेबल न्यायाधीशहरू मीरा खड्का र ईश्वर खतिवडा आएपछिमात्र असार २८ को परमादेश सम्भव भएको थापाले बताएका थिए ।

उता नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटमा बारका अर्का पूर्व अध्यक्ष प्रेमवहादुर खड्काले पनि ‘असार २८ को परमादेशका कारण तपाईको आज अस्तित्व छ’ भन्दै त्यसमा आफूहरूले न्यायाधीश मिलाएको गुन नबिर्सन घुमाउरो ढंगले चेतावनी दिएका थिए ।

खड्काले पनि दीपक कार्की र आनन्दमोहत भट्टराईलाई आफूहरूले मिलाएका कारण दुई न्यायाधीश आफू अनुकूल ल्याउँन पाइएको भन्दै परमादेश चोलेन्द्रको चाहनामा नआएको बताएका । चोलेन्द्रलाई कुनै हालतमा न्यायपालिकाबाट विदा गर्न सत्ता गठबन्धनले सघाउनुपर्ने उनीहरूको माग थियो ।

देउवासँगको भेटमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने विषय प्रसंगभन्दा बाहिर गएर देउवालाई आफ्ना सल्लाहकारलगायतका टिम परिवर्तन गर्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

2 thoughts on “बारका अग्रजको आग्रह- न्यायाधीश मिलाएर सत्ता दिलायौं, अब चोलेन्द्र हटाउन सघाउनुस्

  1. सम्भु थापा मात्र हैन, माकुने र माकुनेहरुको अन्तिम गन्तब्य त्येही हो डेमोक्रेटिक – टयाग’ टास्ने !!!

Leave a Reply to Nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर