स्याङ्जाको तामेकोट दरबार पुनर्निर्माण गर्न महोत्सव गरिँदै


काठमाडौं । स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक तामेकोट दरबार पुनर्निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउण्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोट देखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान-तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो ।
करिब साढे सात सय वर्षपहिले स्याङ्जाको स्यालबासमा तीन तले १४ कोठे तामेकोट दरबार रहेको इतिहास छ । आलम नामका राजा बसेका त्यहाँ अझै पनि दरबार र ऐतिहासिक ढुंगाका अवशेष छन् ।
राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको फाउण्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए । पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा रहेको छ ।
उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको जानकारी बस्यालले दिए । करबब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी फाउण्डेसनले जनाएको छ ।