त्रिविको चर्चित १८ नम्बर विज्ञापन- सेटिङवाला उत्तरपुस्तिका २ वर्षपछि पुनः अख्तियारको नियन्त्रणमा – Nepal Press

त्रिविको चर्चित १८ नम्बर विज्ञापन- सेटिङवाला उत्तरपुस्तिका २ वर्षपछि पुनः अख्तियारको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बहुचर्चित १८ नम्बर विज्ञापनका बाँकी ९ वटा प्रशासनिक पदका उत्तरपुस्तिका दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रोपटक नियन्त्रणमा लिएको छ ।

यसअघि ६ वटा पदको उत्तरपुस्तिकामा नम्बर केरमेट गरी थपघट गरेको पाइएपछि अख्तियारले परीक्षा नै रद्द गरेर त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन अध्यक्षसहितलाई मुद्दा चलाएको थियो ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार उच्च अदालत पाटनले त्रिवि सेवा आयोगलाई १८ नम्बर विज्ञापनका १६ मध्ये मुद्दा चलेका ६ बाहेक अन्य १० पदको नतिजा निकाल्न आदेश दिएपछि अख्तियारमा पुनः उजुरी परेको थियो ।

उच्च अदालतले गत भदौ ९ गते उक्त आदेश दिएपनि आयोगले नतिजा प्रकाशन नगरेको भन्दै सेवा आयोगका अध्यक्ष लालु पौडेल लगायतविरुद्ध परीक्षार्थीले अदालतको अवहेलना मुद्दा समेत चलाएका थिए । तर आयोगले विवादित परीक्षाको नतिजा निकाल्न आलटाल गरेको थियो ।

तर यसबीचमा ती १० पदको उत्तरपुस्तिकामा पनि अन्य ६ पदको जस्तै नम्बर थपघट गरेर सेटिङमा पास गराइएको पुष्टि हुने आधार भेटिएपछि अख्तियारले सबै उत्तरपुस्तिका लिएर अनुसन्धान थालेको छ । अघिल्ला आयोगका पदाधिकारी र कर्मचारी संघ संगठनको सेटिङको अपराधको भागिदार आफूहरु नहुने भन्दै सेवा आयोगका पदाधिकारीले नतिजा प्रकाशनमा आनाकानी गरेको बताइन्छ ।

२०७३ सालमा लिइएको १८ नम्बर विज्ञापनको परीक्षामा प्रशासनतर्फका उप प्रशासकदेखि सवारी चालकसम्मले दिएका उत्तर पुस्तिकामा रातो मसीले पटक पटक केरमेट गरि नम्बर थपघट गरेर पास गराइएको प्रमाण भेटिएपछि अख्तियारले ६ वटा पदको नतिजा रोकेर मुद्दा चलाएको थियो ।

त्यसमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायक गरी कुल ९९ जनाको लागि परीक्षा लिइएको थियो । सेटिङ मिलाइएका परीक्षार्थीलाई पास गराउन उत्तरपुस्तिकामा ब्यापक केरमेट गरेर पास गराइएको हुनाले हाल विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

बाँकी १० पद उप प्रशासक, आर्थिक उप नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत इन्जिनियर र कम्प्युटर, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक, कम्प्युटरको प्राविधिक सहायक र सवारी चालकको उत्तरपुस्तिकामा पनि त्यसैगरि नम्बर थपघट गरिएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले २ वर्षअघि फिर्ता पठाएका उत्तर पुस्तिका पुन अनुसन्धानका लागि लिएपछि सेटिङबाट सेवा आयोग पास हुन बसेकाहरुबीच खैलाबैला मच्चिएको छ ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले उत्तरपुस्तिका नियन्त्रणमा लिइएको विषय अनुसन्धानमा रहने भएकाले यसबारेमा तत्काल केही बताउन नमिल्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *