दुई मनसुनी प्रणालीको मिश्रणले देशभर बदली, जाडाे अझै बढ्ने


काठमाडौं । दुईवटा मनसुनी प्रणालीको मिश्रण हुँदा राजधानी काठमाडौं उपत्यकासहित देशैभर मौसम प्रतिकुल बन्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण आजदेखि तीन दिनसम्म मौसम प्रतिकुल रहने अनुमान छ ।
मौसमविद् समीर श्रेष्ठले नेपालप्रेसलाई दिएको जानकारीअनुसार बागमतीसहित देशका पश्चिमतिरका प्रदेशहरु गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज विहानैदेखि आंशिकदेखि पूर्ण बदली भइसकेको छ । यो क्रम शुक्रबारदेखि क्रमसः पूर्वी क्षेत्रहरुमा पनि देखिनेछ ।
उनले केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् । श्रेष्ठका अनुसार शनिबारदेखि मौसममा सुधार हुनेछ ।
वर्षाका कारण हिमाली क्षेत्रमा व्यापक हिमपात, पहाड र तराईमा शीतलहरमा सम्भावना बढेको छ । यसले तापक्रम अझै घटाउने मौसमविद् श्रेष्ठले जानकारी दिए । आज विहान साँढे ५ बजे काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।