सामाजिक सुरक्षा कोषमा रिक्त तीन सदस्य नियुक्त, अध्यक्ष पनि फेरिए – Nepal Press

सामाजिक सुरक्षा कोषमा रिक्त तीन सदस्य नियुक्त, अध्यक्ष पनि फेरिए

काडमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको रिक्त तीन सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी र होटलको तर्फबाट समिका बुढाथोकी नियुक्त गरिएको हो ।

ढकाल आईएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक रहेका छन् । बुढाथोकी भने आरुसी बुटिक होटलको सञ्चालक हुन् । तीनै जनाकाे कार्यकाल चार वर्षको हुनेछ ।

उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल यस अघि पनि सञ्चालक समिति सदस्य थिए । उनको कार्यकाल कात्तीक २६ गते सकिएपछि पुनः सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् । कात्तीक २६ गते कार्यकाल सकिनेमा  राजेश अग्रवाल र सृजना राणा रहेका छन् । अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवम परिसंघको रोजगारदाता परिषदको संयोजक रहेका छन् भने राणा हाेटल एसाेसिएसन नेपाल (हानका) अध्यक्ष एवम् हाेटल अन्नपुर्णका सञ्चालक रहेकी छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९ एकको उपदफा ज बमोजिम रोजगारदाता मध्येबाट ढकाल, भण्डारी र बुढाथोकी नियुक्त भएका हुन् ।

कोषका अध्यक्ष पनि फेरीए
यसैविच सामाजिक सुरक्षा कोषका अध्यक्ष पनि फेरिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि मन्त्रालयको सचिवमा एकनारायण अर्यालय आएका छन् ।

अब अध्यक्षको जिम्मेवारी मन्त्रालयका सचिव अर्यालले सम्हाल्नेछन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ ले सामाजिक सुरक्षा कोषको सञ्चालक समिति अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

अध्यक्ष र कोषकाे सदस्यसचिवसहित सामाजिक सुरक्षा कोषको सञ्चालक समिति १३ सदस्यीय हुने व्यवस्था छ । जसमा पदेन अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, पदेन सदस्यमा क्रमस नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, राष्ट्रिय योजना आयोगका सहसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव रहने व्यव्था छ ।

यसैगरी नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष वा प्रतिनिध , नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष वा प्रतिनिधि, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष वा प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वा प्रतिनिधि, नेपाल उद्योग परिसंघका अध्यक्ष वा प्रतिनिधि, होटल एसोसिएसनका अध्यक्ष वा प्रतिनिध सदस्य  र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *