बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु, राष्ट्रियस्तरका खेलाडी सहभागी – Nepal Press

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु, राष्ट्रियस्तरका खेलाडी सहभागी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् ।

स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाव्यापी पुरुष युगलको खेल बुधबारदेखि सुरु भएको छ । जिल्ला स्तरीय पुरुष युगलमा क्वाटर फाइनल समीकरण पूरा गर्दै प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ ,किशन दुलाल र राजन श्रेष्ठ, अभिषेक गुरुङ र रमेश शेर्पा र अजय लामा र पूर्ण थापाको जोडी सेमीफाइनलमा प्रवेश गरेको नेपाल ब्याडमिन्टन संघका राष्ट्रिय रेफ्री अनुपरत्न शाक्यले जानकारी दिए ।

पुरुष एकलमा राष्ट्रिय ब्याडमिन्टनमा टफ टवान्टीमा रहेका खेलाडीहरु समेत सहभागी भएका छन् । रत्नजित तामाङ, दिपेश धामीलगायतका राष्ट्रिय खेलाडीहरु पुरुष एकलमा सहभागी रहेको आयोजक खुर्सानीबारी खेलकुद कभर्ड हलका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महिला एकलमा पनि अनिता गिरी, अनुमाया राई, रशिला महर्जनलगायतका राष्ट्रिय खेलाडीहरुले प्रतियोगीतामा भाग लिएका छन् ।

पुरुष युगलमा भने राष्ट्रिय टप ट्वान्टीभित्रका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने छैनन् । प्रतियोगितामा पुरुष एकलमा ३४, महिला एकलमा ९ खेलाडीहरु सहभागी भएका छन् । त्यस्तै पुरुष युगलमा २७ टिम, भेट्रान्समा १२ र सिन्धुपाल्चोक जिल्ला भित्रका स्थानीय खेलाडीहरुको २४ टिमको सहभागिता रहेको छ । सबै विधाका गरेर प्रतियोगीतामा १ सय ४८ जना खेलाडीहरु सहभागी छन् ।

प्रतियोगीताको पुरुष एकलमा प्रथम हुने टिमले नगद १ लाख २५ हजार, महिला एकलमा प्रथम हुने टिमले ५० हजार र पुरुष युगलमा प्रथम हुने टिमले नगद एक लाख पाउने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको महामारी केही कम भएपछि खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । नगरपालिकाले प्रतियोगीताका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण प्रायोजन तातोपानी नाकामा ढुवानी व्यावसाय गर्दै आएको शिल्क ग्रुपले गरेको छ । आफ्नो क्षेत्रको खेल क्षेत्रको विकासका लागि आफूहरुले सहयोग गरेको शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर