किन हुँदैछ भीम रावलको हारमा एमालेविरोधीको हारगुहार ? – Nepal Press
टिप्पणी

किन हुँदैछ भीम रावलको हारमा एमालेविरोधीको हारगुहार ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सबैभन्दा धेरै चर्चा र आमचासो बटुल्न सफल भए, डा. भीम रावल । अध्यक्षमा पराजित भएर पनि यति चर्चा र चासो बटुल्न सक्नु एक हिसाबमा उनको सफलता हो ।

यसअघि अस्थिर र लहडी नेताको उपमा पाएका रावललाई एमालेबाहेक र एमालविरोधीहरुले देवत्वकरण नै गरिरहेका छन् । केपी शर्मा ओलीसँग चुनाव लडेर ‘एमालेको आन्तरिक लोकतन्त्र नारायणीमा बग्न नदिएको’ भन्दै केही सञ्चारकर्मी, बुद्धिजिवी र फरक पार्टीकाले उनको ‘हाइ–हाइ’ गरिरहेका छन् । जसकारण चुनाव हार्दा पनि उनी गर्व गरिरहेका छन् ।

खासमा आज जसले भीम रावलले आफू हारेर पनि एमालेमा आन्तरिक लोकतन्त्र जोगाए भनेर ब्यानर हेडलाइन बनाउँदैछन्, उनीहरुका लागि रावलको उपादेयता ओली र एमाले कमजोर बनाउनका लागि मात्र हो । हिजो जतिबेला रावल संविधान जारी गर्ने र नाकाबन्दीको सामना गर्ने बेला ओलीका सारथि थिए, त्यतिबेला यिनै ब्यानर हेडलाइन बनाउनेहरु रावलको राक्षसीकरण गर्थे ।

आज जसले रावल र घनश्याम भुसालहरु हार्दा मिडिया र सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्, उनीहरुको उद्देश्य सत्ता बाहिर पुगेपनि फेरि जनमतका साथ फर्किने सम्भावना रहेको एमालेलाई कमजोर पार्नु मात्र हो । त्यसैले गुटविहीन अवस्थामा पुगेको एमाले उनीहरुको लागि टाउको दुःखाइ भएर रावलहरुलाई सहानुभूतिको पात्र बनाएर ओलीमाथि आक्रमण गरिरहेका छन् ।

‘चुनाव हारे पनि रावलले मन जिते’ भन्ने गैरएमालेको सहानुभूतिले राजनीतिमा खासै अर्थ राख्दैन । किनकी एमाले कमजोर होस् भन्ने चाहनेहरुका ती सहानुभूतिले रावलको शक्ति बलियो हुन्न । महाधिवेशनमा अध्यक्ष पदमा पराजित भन्ने बायोडाटा बनाउन सफल भए पनि रावलको अबको राजनीतिक यात्रा आवेग होइन, विवेकले चल्नुपर्छ ।

सबैलाई थाहा छ, अहिलेको सत्ता गठबन्धनको एक हिस्सा मूलधारका अधिकांश मिडिया, कथित् बुद्धिजिवी पनि हुन् । केपी ओलीलाई सत्ताच्यूत गर्न परमादेशको प्लटिङ ज–जसले गरेका थिए, उनीहरु एमाले महाधिवेशनको परिणामबाट खुसी छैनन् । त्यसैले अबका केही दिन कांग्रेस अधिवेशनमा गोली चले पनि, माओवादी अधिवेशनमा स्टालिनवाद लागू भए पनि उनीहरुले आलोचना गर्ने ओलीकै हो । बरु ओली प्रवृतिकै कारण कांग्रेस र माओवादीका अधिवेशनमा समेत आन्तरिक लोकतन्त्र कमजोर भयो भन्न बेर लाउँदैनन् ।

प्रसंग फेरि पनि भीम रावलकै । रावल अहिले केही मिडियामा सहानूभुतिको पात्र बनाइए पनि उनी एमालेको नेता हुन् । उनको धरातल भनेको एमालेका कार्यकर्ता हुन्, नक्कली सहानुभूतिको अर्थ छैन ।

तत्कालीन नेकपाभित्र आन्तरिक किचलो तीव्र हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक थिए, रावल । माधव नेपालनिकट नेता रावलको अभिव्यक्ति निकै खरो र उत्तेजक थियो । माधव नेपाललाई जसरी पनि पार्टी फुटाउन लगाउनेमध्येका एक उनी पनि हुन् भन्ने आरोप हाल नेकपा एसमा रहेका नेताहरुको छ ।

तर, अन्तिममा उनले माधव नेपाललाई साथ दिएनन् । रावलले पार्टी फुटाउनका लागि आफूले माधव नेपाललाई कहिल्यै नउक्साएको दावी गर्दै आएका छन् । हुन पनि एमाले विभाजन रोक्न रावल अन्तिममा निकै प्रयत्नशील भएकै हुन् । माधव नेपालको तर्फबाट वार्ता कार्यदलको संयोजक रहेका रावलले आफ्नो आग्रह नसुनिएपछि सांसद पदबाटै राजीनामा समेत दिएका थिए ।

ओलीविरुद्ध अदालतमा मुद्दा लिएर जानेदेखि हालको सत्ता गठबन्धन निर्माण गर्नेमध्येका एक प्रमुख पात्र रावल १० बुँदे सम्झौता गरेर एमालेमै अडिए । अनि माधव नेपालले निकै निन्याउरो पारामा भनेका थिए– मलाई अघि बढ भनेर पछाडिबाट धकेल्ने, म अघि बढिसकेपछि फर्केर हेर्दा त कोही पनि छैन !

असहमति राख्ने, आपत्ति जनाउने मामलामा उनी पहिल्यैदेखि अगाडि हुन् । एमालेमै फर्किसकेपछि पनि १० बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाइरहेकै थिए । सुदूरपश्चिम प्रदेशमा पार्टी इन्चार्ज हुन नपाएको झोकमा उनले दिएका अभिव्यक्ति कठोर थिए । उनले महाधिवेशन प्रतिनिधि छनौटमा समेत असहमति जनाएका थिए ।

पछिल्लो समय पकड क्षेत्र मानिएको सुदूरपश्चिममा पनि उनको साख घटेको थियो । उनलाई आदर्श मानेका धेरै नेता कार्यकर्ता नेकपा एसमा गए । तर उनी चाहिँ किन एमालेमै बसे ? भन्ने प्रश्न धेरैको मनमा उठेको थियो । रावल निकटस्थहरु भने १० बुँदे पालना नभएका कारण उनीहरु नेकपा एसमा लागेको बताउँछन् ।

तत्कालीन नेकपाभित्र आन्तरिक किचलो तीव्र हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक थिए, रावल । माधव नेपालनिकट नेता रावलको अभिव्यक्ति निकै खरो र उत्तेजक थियो । माधव नेपाललाई जसरी पनि पार्टी फुटाउन लगाउनेमध्येका एक उनी पनि हुन् भन्ने आरोप हाल नेकपा एसमा रहेका नेताहरुको छ ।

के उनी साँचिकै एमालेलाई माया गरेर माधव नेपाललाई धोका दिएर एमालेमै बसेका हुन् त ? धेरैले यो प्रश्न गरिरहेका छन् । यता यतिधेरै अपमान सहन तयार भएर रावल किन नेकपा एसमा गएनन् ? यो स्वभाविक प्रश्न हो ।

यसका बाबजुत पनि रावल एमालेमै रहनु एमालेका लागि राम्रै थियो । तर, महाधिवेशनमा चुनाव लडेर कम्तिमा पाँच सय भोट ल्याउन सकेको भए उनको अध्यक्षमा दाबी वा उम्मेदवारी अलि स्वभाविक जस्तो देखिन्थ्यो । प्रतिस्पर्धी ओलीले १९ सय मत कटाउँदा उनले दुई सय हाराहारीमा चित्त बुझाउनुपर्ने परिस्थितिले रावलको जिद्दीपन प्रष्ट झल्कन्छ ।

उनले जिद्दी नगरेको भए एमालेको उपाध्यक्ष कायमै हुन्थे । ओलीले उनलाई उपाध्यक्षमा प्रस्ताव पनि गरेकै हुन् । उनले घनश्याम भुसालले जति मत ल्याएको भए ओली अलोकप्रिय रहेछन् भन्न पनि सकिन्थ्यो । १० बुँदे सम्झौताको आडमा माधव नेपाल छाडेर एमालेमा बसेका रावल पक्षका करिब ५ सय प्रतिनिधि आएकामा उनीहरुले समेत किन ओलीलाई मत दिए ? यो प्रश्न महत्वपूर्ण हो ।

भन्नेहरुले रावलको गुणगान गाउँदै एमालेको आन्तरिक लोकतन्त्र जोगाए भन्लान् । केपी ओली मन नपराउनेहरुले ‘ओलीको सर्वसत्तावादमाथि रावलले धावा बोल्न सक्नु नै ठूलो उपलब्धी’ पनि भन्लान् । रावलले लतारेर ओलीलाई प्रतिस्पर्धामा ल्याए भनेर मख्ख पर्नेहरु पनि छन् ।

जसरी पनि चुनाव गर्नु अनि लाठीमुङ्ग्री गर्नुलाई नै लोकतन्त्र मान्नेहरु पनि छन्, त्यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । कांग्रेस महाधिवेशनमा गोली चल्दासमेत लोकतन्त्र देख्ने ‘पहेँले रोग’बाट ग्रसित बौद्धिक जमात र मिडियाको एउटा तप्का एमालेमा धेरै पद सर्वसम्मत हुँदा लोकतन्त्र नारायणीमा बगेको देख्छ ।

सकेसम्म सहमति, नभए निर्वाचन ! यो स्वभाविक र प्रचलित लोकतान्त्रिक पद्दति नै हो । एमालेको महाधिवेशनमा पनि भएको त्यहीं हो । ओलीले उम्मेदवार दिनेहरुलाई शेरवहादुर देउवाले आफ्नै जिल्ला डडेलधुरामा गरेजस्तो निषेधको नीति लिएनन् । त्यसैले ओली अलोकतान्त्रिक नेता भए उनीहरुको नजरमा ।

बन्दसत्र हलले अध्यक्ष मण्डलका अध्यक्षलाई केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार नदिएको भए हुन्थ्यो होला । तर हलले जिम्मा दिइसकेपछि ओलीले कमिटी घोषणा गर्नु नौलो कुरा थिए । उनले गरेको घोषणाप्रति चित्त नबुझेपछि चुनाव भयो, परिणाम आयो । परिणामलाई सबैले स्वीकारेकै छन्, सकियो ।

तर अब अध्यक्षमा नराम्ररी पराजित भीम रावलले के गर्छन् ? भन्ने आम चासो छ । ‘चुनाव हारे पनि रावलले मन जिते’ भन्ने गैरएमालेको सहानुभूतिले राजनीतिमा खासै अर्थ राख्दैन । किनकी एमाले कमजोर होस् भन्ने चाहनेहरुका ती सहानुभूतिले रावलको शक्ति बलियो हुन्न । महाधिवेशनमा अध्यक्ष पदमा पराजित भन्ने बायोडाटा बनाउन सफल भए पनि रावलको अबको राजनीतिक यात्रा आवेग होइन, विवेकले चल्नुपर्छ ।

सकेसम्म सहमति, नभए निर्वाचन ! यो स्वभाविक र प्रचलित लोकतान्त्रिक पद्दति नै हो । एमालेको महाधिवेशनमा पनि भएको त्यहीं हो । ओलीले उम्मेदवार दिनेहरुलाई शेरवहादुर देउवाले आफ्नै जिल्ला डडेलधुरामा गरेजस्तो निषेधको नीति लिएनन् । त्यसैले ओली अलोकतान्त्रिक नेता भए उनीहरुको नजरमा ।

हुनतः पिएचडी गरेका, धेरै समय राजनीतिमा बिताएका, यसअघि एमालेकै उपाध्यक्षको जिम्मेवारी निर्बाह गरिसकेका, अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध भएका र पटकपटक मन्त्री भइसकेका रावलले सुझबुझपूर्ण ढंगमै एमाले अध्यक्ष हार्ने निर्णय गरेका थिए होलान् । यसले उनको राजनीतिक जीवनमा फाइदा पनि पुर्याउला । तर, अहिलेको ताजा स्थितिमा रावलको यो हारले ब्याकफायर गर्ने सम्भावना पनि उत्तिकै छ ।

अध्यक्षमा पराजित भए पनि उनी एमालेको केन्द्रीय सदस्य हुनसक्थे । तर उनले अध्यक्षबाहेक अरु पदमा आफू नबस्ने घोषणा गरे । परिणामतः उनले केन्द्रीय सदस्यको सपथ पनि खाएनन् । अब एमालेको संगठित सदस्य मात्रैमा खुम्चिएका रावलका विकल्प के हुन सक्छन् ? केपी ओलीले स्थायी कमिटीमा ल्याएर विदेश विभाग प्रमुख बनाइदिए भने पार्टीको काममा सक्रिय होलान् ? यी प्रश्न पनि उठेका छन् ।

पार्टीको अध्यक्ष हार्दैमा भीम रावलको राजनीतिक सकिएको छैन । उमेरको हिसाबले ६६ वर्ष पुगेका रावल एमालेको विधानअनुसार कार्यकारी कमिटीमा बस्ने पनि यहीं कार्यकालमात्र हो । एघारौं महाधिवेशनसम्म पुग्दा रावलसँग अध्यक्षमा फेरि प्रतिस्पर्धा गर्ने वैधानिक अधिकार पनि रहने छैन । त्यसैले रावल जत्तिको सक्रिय र क्षमतावान नेताले अबको ५ वर्ष पार्टीको कार्यकारी कमिटीमा बसेर त्यसपछि पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा रहन हारको आवेग त्याग्नुपर्छ ।
रावलसँग केही सिमित विकल्प छन् ।

विकल्प नम्बर एकः एमालेमै बसेर संघर्ष गरिरहने

आन्तरिकरुपमा किचलो गरिरहने र असन्तुष्टि जनाउनुमै आनन्द लिने बानी परेका रावल अब एमालेको संगठित सदस्य मात्रै छन् । पदीय ओहोदा र सम्मान खोज्ने रावललाई अहिलेको भूमिकामा बसिरहन सजिलो छैन । किनकि उनी प्रायः पार्टीभित्र पनि सत्तापक्षमा रहन रुचाउने नेता हुन् ।

चुनाव लडेर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रक्रियामा भाँजो हालेको आरोप उनीमाथि छ । उनीसँग एमालेभित्र पनि १० बुँदे सम्झौता गरेर एमालेमै अडिएको १० भाइको समूह पनि अब सग्लै छैन । अधिकांश १० बुँदे पक्षधर नेताहरु केपी ओलीले दिएको जिम्मेवारीमा बसिसकेका छन् ।

रावलले एमालेभित्र अब अर्को गुट बनाउने शक्ति राख्दैनन् । आफ्नै समूहभित्र पनि गतिलो छाप छाड्न नसकेका रावलसँग जे जस्तो भए पनि आगामी दिन राम्रो हुने कल्पना गर्दै एमालेमै बस्नु र एमालेभित्रै संघर्ष गर्नु एउटा विकल्प हो ।

विकल्प नम्बर दुईः नेकपा एस ?

एमाले छाड्नै पर्दा उनका लागि जान र बस्न सबैभन्दा सजिलो पार्टी नेकपा एस नै हो । विगतमा एमाले फुटाउन ठूलो भूमिका खेलेका रावल नेकपा एसमा फर्कँदा माधव नेपाल पनि निकै खुसी होलान् । तर रावलले एमाले छाड्ने सम्भावना देखिन्नँ । यदि छाड्नु नै थियो भने विभाजनकै बेला माधव नेपालको पक्षमा लागेको भए रोजेको पद र सरकारमा समेत रोजेको जिम्मेवारी पाउने थिए ।

माधव नेपाललगायत नेकपा एसका नेताहरु पनि एमाले असन्तुष्ट भएकाहरु आउँछन् कि भनेर मुख बाएर बसेका छन् । तर रावलबाट त्यो कदम चालिने सम्भावना देखिन्नँ ।

विकल्प नम्बर तीनः क्षेत्रीय पार्टी ?

भीम रावलको सन्दर्भमा पटक–पटक यो आशंका हुनेगर्छ । २०६५ सालमा मिनभवन क्याम्पसमा भेला गरेरै सुदूरपश्चिमको क्षेत्रीय पार्टी बनाउन खोजेको आरोप रावलमाथि लागेको थियो ।

एमाले फुट्दा पनि नेकपा एसमा नगएर एमालेमै अडिएका रावलले फेरि पार्टी फुटाउनसक्ने कुरा अकल्पनीय जस्तै लाग्छ । तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने मान्यता पनि छ ।

एमालेभित्र एउटा समानान्तर समूह निर्माण गर्ने, त्यसको नेतृत्व गर्ने र मौका मिलाएर पार्टी फुटाउने उनको अर्को विकल्प हुनसक्छ । तर रावल अब यो उमेरमा आएर अलग पार्टी बनाउनेतर्फ लाग्छन् भन्ने अनुमान पनि गर्न सकिन्नँ ।

अध्ययनशील, विचारमा राम्रोसँग बहस गर्न सक्ने र राष्ट्रवादी नेताको छवि बनाएका रावलकासामू एमाले नेताकै हैसियतमा रहेर सक्रिय हुनुनै उत्तम विकल्प हो । सम्भवतः उनले त्यहीं निर्णय लिनेछन् ।

प्रतिक्रिया

One thought on “किन हुँदैछ भीम रावलको हारमा एमालेविरोधीको हारगुहार ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published.