विश्वचर्चित टिभी होस्ट बेयर ग्रिल्सलाई नेपाल ल्याउँदै निर्मल पूर्जा – Nepal Press

विश्वचर्चित टिभी होस्ट बेयर ग्रिल्सलाई नेपाल ल्याउँदै निर्मल पूर्जा

अक्षय कुमारको रियालिटी सो अस्वीकार गरेको खुलासा

काठमाडौं । विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा (निम्सदाइ) अहिले विश्वव्यापी चर्चामा छन् । नेटफिल्क्सले उनीमाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ हिजोदेखि विश्वभर स्ट्रिमिङ सुरु भएको छ ।

नेटफिल्क्स प्रिमियरको पूर्वसन्ध्यामा फिल्मको हाइप्रोफाइल काठमाडौं प्रिमियर आयोजना गरिएको थियो जहाँ पर्यटनमन्त्री प्रेमबहादुर आलेले उनलाई स्ट्यान्डिङ ओभेसन समेत दिएका थिए । संसारका चर्चित मिडियाले फिल्मको राम्रो समीक्षा लेखेका छन् ।

यस्तोमा, निम्सदाइले आफूलाई बलिउड अभिनेता अक्षयकुमारले एउटा एड्भेन्चर रियालिटी सोका लागि प्रस्ताव गरेको तर, पारिश्रमिकमा चित्त नबुझेपछि आफूले अस्वीकार गरेको खुलासा गरेका छन् ।

‘जंगलमा सुटिङ गर्ने साहसिक रियालिटी सोका लागि अक्षयकुमारले बोलाएका थिए तर म गइँन’ उनले भने, ‘म अक्षयकुमारको फ्यान हुँ तर, पारिश्रमिकमा चित्त बुझेन ।’

यसैबीच, आरोही पूर्जाले अबको आफ्नो समय नेपालको पर्यटनमा खर्चिने बताएका छन् । उनले काठमाडौंमा आयोजना हुने एक कार्यक्रमका लागि डिस्कभरी च्यानलका बेयर ग्रिल्सलाई काठमाडौं ल्याउने भएका छन् ।

ग्रिल्जले संचालन गर्ने कार्यक्रम म्यान भर्सेस वाइल्ड नेपालमा समेत हिट छ । ग्रिल्जले लकडाउनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि कार्यक्रममा सहभागी गराएका थिए । ‘बेयर ग्रिल्सलाई पनि चाँडै नेपाल ल्याउने तयारी भएको छ । उनीसँग कुरा भैसकेको छ’ पूर्जाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर