नयाँ भेरिएन्टको कारण देखाउँदै सिक्किम फिल्म फेस्टिभलमा नेपालीलाई रोक – Nepal Press

नयाँ भेरिएन्टको कारण देखाउँदै सिक्किम फिल्म फेस्टिभलमा नेपालीलाई रोक

आजदेखि १८ दिनसम्म प्रवेश नदिन सरकारी निर्देशन

काठमाडौं । आगामी साता भारतको सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभलमा नेपाली पाहुनाले भाग लिन नपाउने भएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण रोकथामका लागि सिक्किमको राज्य सरकार र त्यहाँको केन्द्रीय गृह मन्त्रालयले डिसेम्बर १८ सम्म विदेशीलाई प्रवेश गर्न नदिन आदेशसहितको पत्र पठाएपछि नेपालीले भाग लिन नपाउने भएका हुन् ।

राज्य र केन्द्र सरकारको कोभिड-१९ मापदण्डसहितको पात्र आएपछि फेस्टिभलमा नेपाली र भुटानीले भाग लिन नपाउने सिक्किमको फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माले नेपाल प्रेसलाई बताइन् ।

सरकारको पत्रपछि अब नेपाली र भुटानी फिल्मकर्मी र पाहुनाले भाग लिन पाउनेछैनन् । डिसेम्बर १ देखि १८ डिसेम्बरसम्म प्रवेश अनुमति नदिन दुबै सरकारले बोर्डलाई निर्देशन दिएको जानकारी अध्यक्ष शर्माले दिइन् ।

‘विदेशीले भाग लिन नपाउने भएपछि मैले अभिनेता भुवन केसीलाई टेलिफोनमार्फत यसबारे जानकारी गराएकी छु’ शर्माले नेपाल प्रेसलाई भनिन् ।

डिसेम्बर १० देखि १४ सम्म आयोजना हुने तयारीमा रहेको ग्लोबल फिल्म फेस्टिभल कोरोनाको नयाँ भेरिएन्टसँगै अन्यौलमा परेको छ । नेपाली र भुटानी पाहुनाबिनै फेस्टिभल आयोजना गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न आज सिक्किम सरकार र फिल्म बोर्डको बैठक बस्ने तयारी छ ।

फेस्टिभलमा भाग लिन भुवन केसी, अनमोल केसी, नम्रता श्रेष्ठसहितका दुई दर्जन सेलेव्रिटी र नेपाली संचारकर्मी सिक्किम जाने तयारीमा थिए । नेपाली र भुटानी फिल्मलाई लक्षित गर्दै सिक्किमले सोही फेस्टिभलमार्फत फिल्म पर्यटनको पनि थालनी गर्दै थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर