राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ? – Nepal Press

राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘एकता महाधिवेशन’ आज काठमाडौंमा सुरू हुँदैछ । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । साविक तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेकाले अध्यक्षमा थापा र लिङदेनको द्विपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । लोहनीले लिङदेनलाई समर्थन गर्ने बताएका छन् भने राणा अहिलेसम्म खुलेका छैनन् । यद्यपि राणाका पनि धेरै मानिसहरू लिङदेनकै समर्थनमा उभिएका छन् ।

राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ । पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो ।

अध्यक्षका दुवै दाबेदारले पदाधिकारीमा आ-आफ्नो प्यानल अघि सार्ने तयारी गरेका छन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशम्शेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणा अध्यक्षकै आकांक्षी थिए । तर, पछि अध्यक्षमा लिङदेनलाई समर्थन गर्दै आफू महामन्त्री उठ्न तयार भएका हुन् । महामन्त्रीका लागि उनलाई सबैभन्दा बलिया आकांक्षीका रूपमा हेरिएको छ । आफ्नो पक्षबाट चार उपाध्यक्ष र तीन महामन्त्री उम्मेदवारहरूको सूची लिङदेन पक्षले आज साँझसम्ममा टुंगो लगाउने बताएको छ ।

कमल थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदहरूमा भने थापा पक्षले पनि टुंगा लगाइसकेको छैन ।

राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ । पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो ।

पदाधिकारीका अन्य आकांक्षीहरूमा लिङदेन पक्षबाट श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, रेखा थापा लगायतले पदाधिकारीको आशा गरेका छन् ।

कमल थापा पक्षबाट भाष्कर गहतराज, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, भीम प्रसाद गौतन, अर्जुन राई, बसन्त मानसिंह अधिकारी, गीता बस्नेत, रोशन कार्कीलगायत नेताहरू उपाध्यक्ष र महामन्त्रीका आकांक्षी हुन् ।

राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरू रहने व्यवस्था छ । यद्यपि, तिनीहरू प्रतिनिधिको भोटबाट नभइ अध्यक्षबाट मनोनित हुन्छन् । विधानअनुसार ७ जना सहमहामन्त्री र ७ जना सहायक महामन्त्री मनोनीत हुनेछन् ।

राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति रहने छ । जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् भने बाँकी मनोनीत हुने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *