केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने- यसपाली रित्तो हात फर्किन्नौं – Nepal Press

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने- यसपाली रित्तो हात फर्किन्नौं

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

घोषणासभामा श्रेष्ठले भने, ‘सधैं ठगिएको चितवनलाई यसपाली केन्द्रीय सदस्यमा स्थापित गरिनेछ, चितवनका सबैले सबैलाई भोट हालौं, एकअर्कालाई हराउन नलागौं, चितवनलाई यसपाली जिताउने अभियानमा लागौं ।’ कांग्रेसका अधिकांश महाधिवेशनहरुमा चितवनबाट एक दर्जन हाराहारीका केन्द्रीय सदस्यका आकांक्षीहरु देखिँदै आए पनि कसैले जित्न सकेका छैनन् ।

‘केन्द्रीय महाधिवेशनमा चितवनको पहुँच पु¥याउनुपर्छ भनेर ३ वर्ष यता निरन्तर लागेको छु,’ श्रेष्ठ भन्छन्, ‘हातेमालो गर्दै अगाडी बढौं, जो जहाँबाट लडे पनि भोट हाल्न मिल्छ, कांग्रेस चितवनको त्याग र समर्पणको लामो इतिहास नभुलौँ ।’ जिल्ला सभापति श्रेष्ठ केही महिना यता निकै चर्चामा छन् । उनले पूर्वप्रधानमन्त्री प्रचण्ड र भरतपुर महानगरकी मेयर रेणु दाहाललाई आगामी निर्वाचनमा हराइदिने उद्घोष गर्दै चितवनको चुनावमा एक्लै कांग्रेस मैदानमा उत्रने दाबी गर्दै आइरहेका छन् ।

१३ औं महाधिवेशनका बेला जिल्ला सभापति हुनेहरुमा उनी देशकै कान्छो सभापतिका रुपमा चिनिएका थिए । विद्यार्थी आन्दोलनबाट आएका श्रेष्ठ नेविसंघ चितवनका पूर्वअध्यक्ष, कांग्रेस चितवनको जिल्ला सदस्य, सचिव भएर काम गरिसकेका व्यक्ति हुन् ।

उनी २०४८ सालको चुनावमा कांग्रेस नेता स्वर्गीय गंगाधर लम्सालको पक्षमा मत माग्न १२ वर्षकै उमेरमा चुनावी अभियानमा खटिएका थिए । जीतनारायण तत्कालीन शक्तिखोर गाविसमा लगातार २५ वर्षसम्म अध्यक्ष बनेका कांग्रेसका नेता स्व.बलबहादुर श्रेष्ठको साइलो छोरा हुन् ।

श्रेष्ठले भने, ‘चितवन यसपाली रित्तो हात फर्किने छैन, केन्द्रीय पहुँचमा स्थापित बनेर आउनेछ ।’ उनको उम्मेदवारी घोषणामा पूर्वसभापतिहरु, प्रदेश सांसदहरु, चितवनका ३ वटै क्षेत्रका नवनिर्वाचित सभापतिहरु, अधिकांश महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सभापतिका १ जना बाहेक सबै प्रत्यासीहरु, जिल्ला पदाधिकारीका अधिकांश प्रत्यासीहरु सहभागी थिए ।

श्रेष्ठले आदीवासी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । चितवनबाट यसपाली ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजना बनाइरहेका छन् । पूर्व जिल्लासभापतिहरु टेकप्रसाद गुरुङ र संविधानसभा सदस्य रामकृष्ण घिमिरे, प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु प्रकाश अधिकारी र दिनेश कोइराला छन् ।

चितवन कांग्रेसको इतिहास कस्तो छ ?

देशभरीबाटै बसाई सरी आउने मुख्य जिल्ला चितवन हो । त्यसैले चितवनलाई पहिले ७६ औं, अहिले ७८ औं जिल्लाका रुपमा चिनिन्छ । कांग्रेस बाहेकका अन्य दलहरुमा हेर्ने हो भने चितवनकै व्यक्ति केन्द्रीय अध्यक्ष पनि भएर पार्टी हाँकेका छन्, प्रधानमन्त्री पनि बनिसकेका छन् । महत्वपूर्ण मन्त्रालयमा चितवनको हिस्सा पर्दै आएको छ । एक दर्जन बढी केन्द्रीय सदस्य बनेका छन् । तर, ७ दशक पूरा गरेको कांग्रेसले केन्द्रीय नेतृत्वमा चितवन पाखा पर्दै आएको देखिन्छ । संसद भंगपछि २०१७ पुस १ गते सशस्त्र आन्दोलनका क्रममा एक दर्जन बढी चितवनका कांग्रेसीले सहादत पाएका थिए ।

२०३६ को जनमतसंग्रहमा चितवनले निर्दलीय पक्षलाई ८ हजार बढी मतान्तरले जितेर बहुदलको जिल्ला भनेर चिनिएको थियो । २०४२ सालको सत्याग्रहमा चितवनबाट ५ सय ५३ जना गिरफ्तारीमा परे । २०४६ को जनआन्दोलनको पहिलो सहिद चितवनकै गणेश पौडेल बने ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंह ठोरीबाट राणाविरोधी आन्दोलनका क्रममा २००७ असोज २१ मा पक्राउ परेका थिए । दोस्रो संविधानसभाको चुनावमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई क्षेत्र नम्बर ४ बाट २१ हजार मतान्तरले जिताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर