विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित – Nepal Press

विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित

जनकपुरधाम । साताव्यापी सिता-राम विवाह पञ्चमी मेला सुरु हुन एक दिन बाँकी रहेको बेला जनकपुरधाम फोहोरले दुर्गन्धित बनेको छ । जानकी मन्दिर क्षेत्र, रामानन्द चोकदेखि मन्दिर जाने मुख्यबाटो, पीडारी चोक, मुरली चोक, जनक चोकसहितका सडकमा अत्रतत्र फोहोर थुप्रिएको देखिन्छ ।

सरसफाई कर्मचारीले सडकमा झाडु लगाएर फोहोर थुपारेका छन् । तर थुपारिएको फोहोर उप-महानगरपालिकाले व्यवस्थापन नगरेका कारण दुर्गन्ध फैलिएको छ । जनकपुरधाममा बजार क्षेत्रमा दैनिक २५ देखि ३० ट्याक्टर फोहोर निस्किने गर्दछ । अहिलेसम्म उपमहानगरपालिकाले ल्याण्डफिल साइट निर्माण गर्न सकेको छैन । जसका कारण फोहोर व्यवस्थापन चुनौती बनेको छ ।

कार्याकाल सकिन लाग्दा पनि मेयर लालकिशोर साहले फोहोर व्यवस्थापनको स्थायी समाधान गर्न नसकेकाले वडाध्यक्षहरु नै उनको आलोचना गरिरहेका छन् । फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै वडा ७ का अध्यक्ष जानकीराम साह, वडा ३ का अध्यक्ष दिपेन्द्र साह, वडा ४ का अध्यक्ष सुदर्शन सिंह लगायतका २५ जनप्रतिनिधि अहिले पनि आन्दोलित छन् ।

उनीहरुले गत मंगलवार मेयर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसपछि दुई दिन अगाडीमात्र सरसफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको आरोप लगाउदै उनीहरु काठमाडौं पुगेर मेयर साह विरुद्ध प्रदर्शन गरे ।

मेयर साह भने सरसफाइ व्यबस्थापनको स्थायी समाधान गर्नुको साटो दबाब दिने जनप्रतिनिधिविरूद्ध कर्मचारीलाई उस्काएर प्रतिकार आन्दोलन गर्न लगाएका छन् ।

जनकपुरधामलाई नर्क बनाएको भन्दै यूवा अभियानी र वडाध्यक्षहरु स्वंयम पनि बजारको फोहोर उठाएर मेयर साहको घर अगाडी र कार्यालयको गेटमा थुपारेका थिए । फोहरमैला व्यवस्थापनमा मेयर साह असफल देखिएको वडाध्यक्ष दिपेन्द्र साह बताउँछन् ।

विवाह पञ्चमीका बेला पनि फोहोर नउठेपछि जानकी मन्दिरका सहायक महन्थ रोषण दासले दुःख व्यक्त गरेका छन् । उनले भने, ‘अब हामी आफैं सरसफाईका लागि निस्किन्छौं । भोलि विहान बृहत सरसफाई कार्यक्रम राखेका छौं ।’

सरसफाइ कार्यक्रममा सहभागी हुन नगरबासी, सुरक्षाकर्मी, विद्यार्थी, व्यावसायी सबैलाई आह्वान गरेको उनको भनाई छ । यसवर्ष विवाह पञ्चमी म‌सीर २२ गते परेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर