श्रममन्त्री श्रेष्ठ र लेवनानका अवैतनिक महावाणिज्यदूत गोजायलविच भेटवार्ता – Nepal Press

श्रममन्त्री श्रेष्ठ र लेवनानका अवैतनिक महावाणिज्यदूत गोजायलविच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनको बिषयमा छलफल भएकाे हाे ।

मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले निर्वाह गरेकाे  भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । मन्त्री श्रेष्ठले नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथा जी ७७ का सदस्य देश रहेकोले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरममा एकै किसिमका एजेण्डा हुने गरेको स्मरण गरे ।

महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताए । लेवनानमा रहेका नेपालीको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले बताए ।

श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालासँग वृहत छलफल गरी छिटो टुङ्गोमा पुगिने मन्त्री श्रेष्ठले बताए । पछिल्लो समय लेवनान नेपाली श्रमिकको लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ ।

नेपाल र लेवनानबीच सन् १९६३ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघ मार्फत शान्तिसेना पनि पठाउदैँ आएको छ ।

शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रकृया सफलताको शुभकामना पनि दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर