उदयशमशेरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा – Nepal Press

उदयशमशेरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशम्सेर राणाले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । उनी १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका नेतामा पर्छन् । खुलातर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २७ औं भएका थिए । राणाले केन्द्रीय सदस्यमा जिते पछि महाधिवेशन हुनुभन्दा २ वर्षअगावै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउने विषयलाई मुद्दाका रूपमा अघि बढाउने बताए ।

राणाले ७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे । ‘७/७ तहको चिनाव गर्दा पार्टीमा बिग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरुमा पद घटाएर कसरी हुन्छ बिग्रह म्यानेज गर्ने इस्यूमा योगदान पुर्‍याउँछु,’ उनले भने ।

अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे । युवाले मागेर होइन जितेरै पदमा पुग्नु पर्ने मान्यतामा आफू रहेकाले जितेरै पदमा पुग्नका लागि आफू संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर