ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया कहाँ पुग्यो ? – Nepal Press

ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ । निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताए।

नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्ममा टुङ्गो लाग्ने उनको भनाइ थियोे । ‘नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्नेछन् ।’ केन्द्रका प्रमुख झाले भने,‘निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न हुनेछ ।’

बोलपत्र हाल्ने कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले उसलाई मूल्याङ्कनमा पार्ने कि नपार्ने भन्ने अन्योलका कारण केही समय लागेकामा अहिले समावेश गर्न निर्देशन आएको केन्द्रका इन्जिनीयर सरोज बज्राचार्यले बताए । उनले भने, ‘नौ कम्पनीको बोलपत्र मूल्याङ्कन गरेर छनोट गरिनेछ ।’

काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी साधनको चाप कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्कोमा निर्माणको प्रक्रिया अघि बढाइएको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको केन्द्रले जनाएको छ ।

बालकुमारीबाट आएका सवारी साधनका लागि चार लेन उठाएर ग्वार्कोतिर लग्ने र अर्को चार लेन तल ९अहिलेको भएको ठाउँमा० हुने इन्जिनीयर बज्राचार्यले बताए। ‘फ्लाई ओभर’को जम्मा लम्बाइ झन्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।

सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकामा व्यस्त सात चोकमा सवारी साधनको आवागमन सजिलो बनाउनका लागि अध्ययन गर्न उल्लेख गरेकामा केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो । परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको केन्द्रले जनाएको छ । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्को छानिएको इन्जियियर बज्राचार्यको भनाइ थियो ।

विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा ल्याएको छ । विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि सवारीसाधन नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जनाएको छ । ‘फ्लाई ओभर’ बिएन्डबी अस्पताल नजिकैको ग्वार्कोबाट बालकुमारीको केही अघिसम्म रहने छ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग ९मुख्य सडक०मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने केन्द्रले जनाएको छ ।

सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनामा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने भएका छन् । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको हो । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेकाले जिम्मेवारी दिइएको हो ।

संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको छ । उहाँका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारी साधन अन्यत्र मोड्नुपर्न उनले बताए । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ ।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गरिने योजना छ । चीन सरकारले झन्डै तीन वर्ष पहिले निर्माण गरेको चक्रपथका चोकहरुमा ‘फ्लाई ओभर’ निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी ‘फ्लाई ओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ ।

सरकारले चालु आवमा उपत्यकामा फ्लाई ओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाई ओभर’ बन्न लागेकाले विभागले यी स्थान छानेको हो । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि ‘फ्लाई ओभर’ नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेका छन् ।

सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारको सहयोगमा कोटेश्वर र बानेश्वर तथा जापान सरकारको सहयोगमा थानकोटमा ‘फ्लाई ओभर’ निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै ‘फ्लाई ओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा ‘फ्लाई ओभर’ र ‘अन्डरपास’ को सङ्ख्या बढ्ने देखिएको छ ।

चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अन्डरपास’ निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोक चोकमा सवारी साधान जाम हुन थालेकाले फ्लाई ओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ ।

त्यतातर्फ २८० मिटर लम्बाइको ¥याम हुने र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको ¥याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर