सौगात र दीयाको लभस्टोरीमा ‘हैट’ बने भिलेन ! फिल्म ‘मन्त्र’को पोस्टर र रिलिज डेट सार्वजनिक – Nepal Press

सौगात र दीयाको लभस्टोरीमा ‘हैट’ बने भिलेन ! फिल्म ‘मन्त्र’को पोस्टर र रिलिज डेट सार्वजनिक

काठमाडौँ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर फिल्म ‘मन्त्र’को पोस्टरसहित प्रदर्शन मिति तय सार्वजनिक भएको छ । कोरोना महामारीले रिलिजमा ढिलाइ भएको फिल्मले अन्ततः माघ २८ गतेलाई रिलिज डेटको रुपमा घोषणा गरेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मले हिमाली भेगको प्रेमकथालाई चित्रण गर्छ । ५१०० मिटरभन्दा माथिको उचाइ मनास्लु हिमालको आधार शिविर क्षेत्रमा छायांकन गरिएको फिल्मका निर्देशक खिलबहादुर गुरुङले गरेका हुन् ।

‘फिल्म निर्माण भएको चारवर्ष बितिसकेको थियो । दर्शकले पनि धेरै कुर्नुभयो । सोही कारण जतिसक्दो चाँडो रिलिज गर्ने निधो गरेका हौं’ निर्देशक गुरुङले नेपाल प्रेसलाई भने । उनका अनुसार फिल्मले केटीलाई जबर्जस्ती भगाएर बिहे गर्ने हिमाली परम्परामाथि फिल्म आधारित छ ।

सार्वजनिक पोस्टरमा सौगात, बुद्धि र दीयालाई चित्रण गरिएको छ । मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मका दृश्यले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, बीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

यो फिल्ममा सौगात र दीयाले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । यसबाहेक फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ ।

साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत छ । आगामी साता पत्रकार सम्मेलनमार्फत फिल्मको ट्रेलर र प्रवद्र्धन अभियान थालिने निर्देशक गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *